सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा एक युवक पक्राउ
जनकपुरधाम, २६ असोज । सामाजिक सञ्जाल फेसबुकमा खुकुरी देखाउँदै डरत्रास फैलाउने प्रकृतिको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१३ धाताटोल निवासी अन्दाजी १८ वर्षीय काले भन्ने सुमन पटेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पटेलले फेसबुकमा धारिलो हतियार खुकुरी देखाएर त्रास फैलाउने प्रकृतिको तस्बिर अपलोड गरेको पाइएको थियो ।
सोही आधारमा प्रहरीले उनलाई आइतबार साँझ करिब साढे ५ बजे घरबाटै नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार पक्राउ परेका युवकमाथि अनुसन्धान भइरहेको छ ।
घटनामा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त घटनाबारे जानकारी दिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




