लहानमा नवनिर्मित दुर्गा मन्दिरको उद्घाटन
सिरहा, २५ असोज । लहान नगरपालिका–७ स्थित पुरानो मन्दिरको स्थानमा निर्माण गरिएको नयाँ दुर्गा मन्दिरमा घटस्थापनाको दिनदेखि पूजाआराधना सुरु भएको छ ।
लहानको मुख्य बजारमा करिब नौ दशकदेखि दुर्गा पूजा तथा मेला आयोजना हुँदै आएको स्थानमा नगरपालिकाको ४ करोड ७० लाख रुपैयाँको लगानीमा मन्दिर निर्माण गरिएको हो ।
उत्तराखण्ड एण्ड कन्स्ट्रक्सनले दुई वर्ष लगाएर निर्माण सम्पन्न गरेको मन्दिरको नगरप्रमुख महेशप्रसाद चौधरी र वडाध्यक्ष रामऔतार शर्माले धार्मिक विधिअनुसार पूजाअर्चना गर्दै उद्घाटन गरे ।
नगरप्रमुख चौधरीले लहान नगरपालिकाको शहरी तथा ग्रामीण क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले मन्दिर निर्माण गरिएको बताए ।
यसैबीच, दुर्गा मन्दिरको नाममा ट्रस्ट गठन गरी धार्मिक गतिविधिसँगै मानव सेवाका कार्यसमेत सञ्चालन गर्ने तयारी गरिएको मेला समितिका संयोजक विजय गुप्ताले जानकारी दिए ।
उनका अनुसार मन्दिरको आम्दानी पारदर्शी बनाउन गत वर्षदेखि नेपाल बैंक लिमिटेडमा खाता सञ्चालन गरिएको छ । एक वर्षको अवधिमा उक्त खातामा सात लाख रुपैयाँ जम्मा भएको र तीन तोला सुनसमेत सङ्कलन भएको उनले बताए ।
मन्दिरको नाममा हालसम्म डेढ किलो सुन जम्मा रहेको जनाइएको छ । ट्रस्टमार्फत उपलब्ध स्रोतसाधनलाई व्यवस्थित गरी धार्मिक तथा सामाजिक सेवाका काममा उपयोग गर्ने योजना रहेको मेला समितिले जनाएको छ ।
करिब ९० वर्ष पुरानो धार्मिक परम्परालाई निरन्तरता दिँदै नयाँ संरचनाबाट पूजा सुरु भएसँगै लहानमा बडादशैँको धार्मिक चहलपहलसमेत बढेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




