हत्या आरोपीसँग टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि छानबिन
जनकपुरधाम, २५ असोज । जनकपुरधाममा छुरा प्रहार गरी युवकको हत्या गरेको घटनामा पक्राउ परेका आरोपी इर्साद खानसँग जोडिएको सामाजिक सञ्जालको भिडियो सार्वजनिक भएपछि एक सशस्त्र प्रहरी जवानमाथि पनि अनुसन्धान सुरु गरिएको छ ।
हिंसा प्रोत्साहन गर्ने तथा प्रहरी आचरणविपरीतको टिकटक र रिल्स बनाएको आरोपमा सशस्त्र प्रहरी जवान ऋषि मण्डल अनुसन्धानको दायरामा तानिएका हुन् ।
जनकपुरधाम उपमहानगरपालिका–५ मा बिहीबार साँझ भएको छुरा प्रहारको घटनामा २४ वर्षीय आमिन साफीको मृत्यु भएको थियो ।
घटनामा २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएका छन् । उक्त घटनामा संलग्न रहेको आरोपमा इर्साद खान पक्राउ परेका छन् ।
प्रहरी अनुसन्धानका क्रममा इर्सादले यसअघि पनि सामाजिक सञ्जालमा हिंसा प्रोत्साहन गर्ने तथा अर्को समुदायलाई लक्षित गरी सामाजिक सद्भाव बिगार्न सक्ने प्रकृतिका भिडियो बनाउने गरेको खुलेको जनाइएको छ ।
इर्सादसँग सशस्त्र प्रहरी जवान मण्डलले केही महिनाअघि बनाएको एउटा भिडियोसमेत अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
उक्त भिडियोमा इर्सादले खल्तीबाट खुकुरी निकालेर प्रदर्शन गर्दै अभद्र भाषा प्रयोग गरेको र हिंसाको चेतावनी दिएको देखिन्छ ।
भिडियोमा जवान मण्डलसमेत उपस्थित रहेको भन्दै उनको भूमिकामाथि प्रश्न उठाइएको छ ।
हत्याको घटनापछि इर्सादसँग सम्बन्धित पुराना भिडियोहरू सामाजिक सञ्जालमा फैलिन थालेसँगै जवान मण्डलमाथि पनि कारबाहीको माग उठेको हो ।
यस विषयमा सशस्त्र प्रहरी बलका मधेश प्रदेश प्रमुख डीआईजी विष्णु भट्टले जवान मण्डलमाथि अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
उनका अनुसार मण्डललाई पर्साबाट तानेर गणमा ल्याई सोधपुछ तथा अनुसन्धान अघि बढाइएको छ । यस विषयमा नेपाल प्रहरीसँगसमेत समन्वय भइरहेको उनले बताए ।
डीआईजी भट्टले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा प्रहरी कर्मचारीको आचरणविपरीत व्यवहार देखिएकाले अनुसन्धान अघि बढाइएको स्पष्ट पारेका छन् ।
युवकको हत्यापछि सार्वजनिक भएका भिडियो र त्यसमा देखिएका व्यक्तिहरूको भूमिकालाई लिएर अनुसन्धान अघि बढिरहँदा घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनअनुसार कारबाही गर्नुपर्ने आवाजसमेत उठिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




