घटस्थापनासँगै जनकपुरधाममा दशैँको रौनक
जनकपुरधाम, २५ असोज । मधेश प्रदेशको राजधानी जनकपुरधाममा बडादशैँको पहिलो दिन विधिपूर्वक घटस्थापना गरिएको छ ।
घटस्थापनासँगै यहाँका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरहरूमा पूजाआराधना सुरु भएपछि धार्मिक नगरी जनकपुरधाम दशैँमय बनेको हो ।
जनकपुरधामस्थित कपिलेश्वरको जेठी राजदेवी मन्दिर, राम मन्दिर परिसरको राजदेवी मन्दिर, महारानीमाई स्थान, बौद्धिमाई मन्दिर, अन्नपूर्णामाई मन्दिर, पल्टीमाई स्थान र बुढीयामाई स्थानलगायतका प्रमुख शक्तिपीठमा धार्मिक विधि र परम्पराअनुसार घटस्थापना गरिएको हो ।
घटस्थापनाका अवसरमा मन्दिरहरूमा पूजापाठ गरी जमरा राखिएको छ । हिन्दू धर्मावलम्बीहरूले नवरात्रिका नौ दिनसम्म शक्तिस्वरूपा दुर्गा भवानीको आराधना गर्दै सुख, शान्ति, समृद्धि र परिवारको कल्याणको कामना गर्ने धार्मिक विश्वास छ ।
मिथिलाको धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा परिचित जनकपुरधाममा बडादशैँको विशेष महत्त्व छ । दशैँका अवसरमा यहाँका विभिन्न देवी मन्दिर तथा शक्तिपीठहरूमा विशेष पूजाआराधना र धार्मिक अनुष्ठान गर्ने परम्परा रहिआएको छ ।
घटस्थापनासँगै मन्दिर परिसरहरूमा श्रद्धालु भक्तजनको चहलपहल बढ्न थालेको छ । नवरात्रिका आगामी दिनमा विभिन्न शक्तिपीठमा पूजाआराधना गर्ने भक्तजनको उपस्थिति थप बढ्ने विश्वास गरिएको छ ।
नौ दिनसम्म माता दुर्गाका विभिन्न स्वरूपको पूजा गरिने नवरात्रिको समापनसँगै दशमीका दिन मान्यजनबाट टीका तथा जमरा ग्रहण गरी विजयादशमी मनाउने परम्परा छ ।
धार्मिक आस्था, सांस्कृतिक परम्परा र पारिवारिक मिलनको पर्वका रूपमा मनाइने बडादशैँले जनकपुरधाममा उत्साह थपेको छ ।









तस्बिहरू: राजा झा
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




