महोत्तरी, २५ असोज । महोत्तरीको मटिहानीमा बडादशैँको पहिलो दिन भव्य शान्ति कलश शोभायात्रा निकालिएको छ ।

धार्मिक झाँकी, बाजागाजा र हजारौँ श्रद्धालु भक्तजनको सहभागितामा निकालिएको शोभायात्राले मटिहानीलाई भक्तिमय बनाएको थियो ।

मटिहानीस्थित ऐतिहासिक दुर्गा मन्दिरको प्राङ्गणबाट सुरु भएको कलश शोभायात्रा नगरका विभिन्न भागको परिक्रमा गर्दै पुनः मन्दिर परिसरमै पुगेर सम्पन्न भएको थियो ।

शोभायात्रामा सहभागी श्रद्धालुहरूले विश्व शान्ति, सामाजिक सद्भाव र समस्त मानव जातिको कल्याणको कामना गरेका थिए ।

शोभायात्रा सम्पन्न भएपछि ऐतिहासिक दुर्गा मन्दिरमा विधिपूर्वक घटस्थापना गरी नवरात्रिको पूजाआराधना सुरु गरिएको हो । नवरात्रिको पहिलो दिनदेखि नै मन्दिरमा श्रद्धालुहरूको चहलपहल बढेको छ ।

कलश शोभायात्रामा मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डल, महोत्तरीका सुरक्षा निकायका प्रमुख तथा हजारौँ श्रद्धालु भक्तजनको सहभागिता रहेको थियो ।

यसैबीच, नवरात्रिको पहिलो दिन महोत्तरी जिल्लाका अन्य स्थानमा पनि दुर्गा पूजाको आरम्भ गरिएको छ ।

जलेश्वरस्थित महेन्द्र चोक र शंकर चोक, पिपरा गाउँपालिकाको पिपरा, महोत्तरी गाउँपालिकाको महोत्तरी र पर्सा तथा गौशाला नगरपालिकाको गौशालालगायतका स्थानमा दुर्गा प्रतिमा स्थापना गरी पूजाआराधना सुरु गरिएको छ ।

नवरात्रिसँगै जिल्लाका विभिन्न शक्तिपीठ तथा दुर्गा पूजा स्थलमा धार्मिक गतिविधि बढेका छन् । नौ दिनसम्म चल्ने दुर्गा पूजाले महोत्तरीका विभिन्न क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक उत्सवमय बनाएको छ ।