चाडपर्व लक्षित धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना
जनकपुरधाम, २५ असोज । बडादशैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै धनुषा जिल्लामा यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टर स्थापना गरिएको छ ।
चाडपर्वका समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले यात्रुहरूको सुरक्षा, सहज आवागमन तथा यात्राका क्रममा हुन सक्ने ठगी र दुर्व्यवहार नियन्त्रण गर्ने उद्देश्यले जिल्लाका विभिन्न ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला ट्राफिक प्रहरी कार्यालय जिरोमाइल धनुषाको समन्वयमा जनकपुरधाम बसपार्क, रामानन्द चोक, मुजेलिया, ढल्केवर, लालगढ र पोर्ताहामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।
यात्राका क्रममा टिकट तथा भाडादरसम्बन्धी गुनासो, ठगी, दुर्व्यवहार तथा अन्य समस्यामा परेका यात्रुलाई आवश्यक सहयोग उपलब्ध गराउनुका साथै हराएका सामानको खोजतलास र आकस्मिक सुरक्षासम्बन्धी सहजीकरण गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी, यात्रुहरूलाई यात्राका क्रममा सहजता प्रदान गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला ट्राफिक प्रहरी कार्यालय जिरोमाइलको अगाडि शुद्ध खानेपानी तथा शौचालयको सुविधासहित रिफ्रेस सेन्टरसमेत स्थापना गरिएको छ ।
प्रहरीले यात्राका क्रममा कुनै समस्या परेमा नजिकको प्रहरी कार्यालय वा यात्रु सहायता कक्षमा सम्पर्क गर्न आग्रह गरेको छ । साथै, आकस्मिक सहायता आवश्यक परेमा प्रहरीको टोल फ्री नम्बर १०० वा ट्राफिक प्रहरीको नम्बर १०३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
चाडपर्वको समयमा यात्रुलाई सुरक्षित, सहज र व्यवस्थित यातायात सेवा उपलब्ध गराउन सहायता कक्ष तथा रिफ्रेस सेन्टर प्रभावकारी हुने विश्वास गरिएको छ ।










तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




