जनकपुरधाम, २४ असोज । मधेश प्रदेशका प्रदेश सभा सदस्य दीपेन्द्र कुमार ठाकुरले युवाको नेतृत्व विकास, व्यक्तित्व निर्माण र सामाजिक उत्तरदायित्व अभिवृद्धिमा जेसीजको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

जनकपुर जेसीजद्वारा आयोजित सप्ताहव्यापी कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै ठाकुरले युवाहरूलाई समाज परिवर्तनको संवाहकका रूपमा अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले नेतृत्व क्षमता र सामाजिक सेवाको भावनालाई व्यवहारमा उतार्न सके समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने धारणा व्यक्त गरे ।

युवाहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा सामाजिक सेवाका क्षेत्रमा जेसीजले सञ्चालन गर्दै आएका गतिविधिले जिम्मेवार र सक्षम नेतृत्व निर्माणमा सहयोग पुर्याउने विश्वास लिइएको छ ।

कार्यक्रममा जनकपुर जेसीजका वर्ष २०२६ का अध्यक्ष भवेश झासहित कार्यकारिणी समितिका पदाधिकारी, सदस्य तथा जेसीज परिवारको उपस्थिति रहेको थियो ।

सप्ताहव्यापी कार्यक्रममार्फत युवाको नेतृत्व क्षमता विकास, व्यक्तित्व निर्माण, सामाजिक सेवा तथा सामुदायिक सहभागितालाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको जनाइएको छ ।

युवा नेतृत्वलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै सकारात्मक परिवर्तनको अभियान अघि बढाउने उद्देश्यसहित आयोजित कार्यक्रमले समाज निर्माणमा युवाहरूको सहभागिता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।