बारा, २४ असोज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१४ बेहरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय रामचन्द्र महतोकी ४५ वर्षीया श्रीमती सिरिया देवी महतो रहेकी छन् ।

प्रहरीका अनुसार शनिबार दिउँसो करिब १ः४५ बजे आफ्नै घरपछाडि सरसफाइ गर्ने क्रममा नाङ्गो विद्युत् तार छुँदा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी सिरियालाई उनका श्रीमान् रामचन्द्रले तत्काल उपचारका लागि सिमरास्थित सिटी स्टार अस्पताल पुर्याएका थिए ।

अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गरेपछि दिउँसो करिब २ बजे उनलाई मृत घोषणा गरेका थिए ।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक विनोदराज खत्रीको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

मृतकको शव परीक्षणलगायत आवश्यक प्रक्रिया पूरा गर्न सिटी स्टार अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।