रौतहट, २४ असोज । दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै रौतहटमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

चाडपर्वका बेला यात्रुको चाप बढ्ने र यात्रा क्रममा विभिन्न समस्या आउन सक्ने भएकाले यात्रुलाई सुरक्षित, सहज र व्यवस्थित यात्रा गराउने उद्देश्यले जिल्लाका चार स्थानमा सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय गौर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त आयोजनामा चन्द्रपुर नगरपालिका–४ को चन्द्रनिगाहपुर मेनचोक, गरुडा नगरपालिका–४ को गरुडा बजार, बौधीमाई नगरपालिका–७ को बंकुल चोक र गौर नगरपालिका–८ स्थित गौर बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापामगरले जानकारी दिए ।

उनका अनुसार चाडपर्वका समयमा सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले यात्रुका समस्या सम्बोधन गर्न र यातायात सेवालाई व्यवस्थित बनाउन सहायता कक्ष सञ्चालन गरिएको हो ।

सहायता कक्षबाट यात्रुहरूले यात्राका क्रममा भोग्नुपरेका समस्या, सार्वजनिक सवारीसाधनमा हुने सम्भावित ठगी, बढी भाडा असुली तथा अन्य गुनासो प्रहरीसमक्ष राख्न सक्नेछन् । यसबाट यात्रुको गुनासो समयमै सम्बोधन गर्न र यातायात क्षेत्रमा हुन सक्ने अनियमितता नियन्त्रण गर्न सहयोग पुग्ने प्रहरीको अपेक्षा छ ।

यसैगरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरअगाडि यात्रुहरूलाई लक्षित गरी रिफ्रेस सेन्टरसमेत सञ्चालनमा ल्याइएको छ । उक्त सेन्टरमा यात्रुका लागि शुद्ध खानेपानी र शौचालयको व्यवस्था गरिएको प्रहरी निरीक्षक थापामगरले बताए ।

लामो दूरीको यात्रा गर्ने यात्रुलाई केही समय आराम गर्न तथा आधारभूत सुविधा उपलब्ध गराउने उद्देश्यले रिफ्रेस सेन्टर स्थापना गरिएको हो । चाडपर्वका बेला सडक सुरक्षा कायम राख्नुका साथै यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्यसहित प्रहरीले यस्तो व्यवस्था गरेको जनाएको छ ।

प्रहरीले चाडपर्वमा यात्रा गर्दा ट्राफिक नियमको पालना गर्न, सवारीसाधनको अवस्था जाँच गरेर मात्र यात्रा गर्न तथा बढी भाडा असुली वा अन्य समस्या भए नजिकैको यात्रु सहायता कक्षमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टरको सञ्चालनले चाडपर्वका बेला यात्रुले भोग्ने समस्या न्यूनीकरण गर्नुका साथै सुरक्षित र व्यवस्थित यातायात सेवामा सहयोग पुग्ने विश्वास गरिएको छ ।