रौतहट, २४ असोज । रौतहटको मौलापुर नगरपालिका–१ मर्यादपुरमा लागूऔषध दुर्व्यसन नियन्त्रण, सामाजिक विकृति न्यूनीकरण तथा गाउँमा शान्ति र अनुशासन कायम गर्ने उद्देश्यले स्थानीयवासीले सामूहिक पहल थालेका छन् ।

स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, किसान, सञ्चारकर्मी तथा भद्रभलादमीको सहभागितामा समाज सुधार समिति गठन गरी गाउँलाई सभ्य, अनुशासित र व्यवस्थित बनाउने अभियान अघि बढाइएको हो ।

समाज सुधारका लागि आयोजित बैठकले लागूऔषध तथा अन्य नशालु पदार्थको सेवन नियन्त्रण गर्ने, युवालाई कुलतबाट जोगाउने र गाउँमा सामाजिक सद्भाव कायम राख्ने निर्णय गरेको सहभागी भोला पाण्डेले जानकारी दिए ।

बैठकले समितिमा आबद्ध व्यक्तिहरूले चुरोट, खैनीलगायत कुनै पनि नशालु पदार्थ सेवन नगर्ने प्रतिबद्धतासमेत जनाएको छ । समितिमा आबद्ध व्यक्तिले त्यस्ता पदार्थ सेवन गरेको पाइएमा पाँच हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको पाण्डेले बताए ।

त्यसैगरी, गाउँका कुनै पनि व्यक्तिले गाँजा, चरेसलगायत लागूऔषध तथा नशालु पदार्थ सेवन गरेको पाइएमा जरिवाना गर्ने निर्णय गरिएको छ । यसबाट गाउँमा बढ्दै गएका सामाजिक विकृति, विसङ्गति र दुव्र्यसन नियन्त्रण गरी सकारात्मक सामाजिक वातावरण निर्माण गर्न सहयोग पुग्ने सहभागीहरूको विश्वास छ ।

स्थानीयस्तरबाटै सामूहिक प्रतिबद्धतासहित अभियान सुरु गरिएको जनाउँदै सहभागीहरूले समितिका निर्णय कार्यान्वयनमार्फत युवालाई दुर्व्यसनबाट जोगाउने र समाजमा शान्ति, अनुशासन तथा आपसी सद्भाव कायम गर्ने लक्ष्य लिइएको बताएका छन् ।

उक्त बैठकमा मौलापुर नगरपालिकाका उपप्रमुख नागेन्द्र यादव, वडा नम्बर १ का अध्यक्ष जयनाथ कुशवाहा, नगर प्रमुखका प्रत्याशी रामाप्रवेश यादव, कृष्ण तिवारीलगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी, किसान, बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।