जनकपुरधाम, २४ असोज । बस व्यवसायीहरूले राजमार्गमै बस पार्किङ गर्न थालेपछि सर्वसाधारणको आवागमन प्रभावित बनेको छ ।

जनकपुरधाम उपमहानगरपालिकास्थित जिरोमाइलमा रहेको रामजानकी दुलहा दुलही बसपार्क सञ्चालनमा रहे पनि बस व्यवसायीहरूले जनकपुरधाम–जलेश्वर राजमार्गमै बस पार्किङ गर्न थालेपछि सर्वसाधारणको आवागमन प्रभावित बनेको हो ।

बसपार्कको छेउमै रहेको व्यस्त राजमार्गमा बसहरू लामो समयसम्म रोक्ने र जथाभावी पार्किङ गर्ने प्रवृत्तिले सडकमा सवारीसाधनको चाप बढाएको छ । यसबाट पैदलयात्री, मोटरसाइकल चालक तथा अन्य सवारीसाधनका यात्रुले आवतजावतमा सास्ती खेप्नुपरेको स्थानीयको गुनासो छ ।

राजमार्गमै बसहरू रोकिँदा सडक साँघुरो हुने र सवारी आवागमन अवरुद्ध हुने गरेको छ । यसले दुर्घटनाको जोखिमसमेत बढाएको स्थानीय बताउँछन् ।

बस पार्किङका लागि छुट्टै बसपार्क हुँदाहुँदै राजमार्गलाई नै पार्किङस्थल बनाइनुले सडकको सौन्दर्य बिग्रनुका साथै ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको छ ।

बसपार्क नजिकै जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा रहे पनि राजमार्गमा हुने अव्यवस्थित पार्किङ नियन्त्रण प्रभावकारी हुन नसकेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले ट्राफिक प्रहरीले नियमअनुसार नियमित रूपमा कारबाही गर्दै आएको बताए । सडकमा सवारी आवागमन सहज बनाउन ट्राफिक नियमको पालना गराउने काम भइरहेको उनको भनाइ छ ।

यता, बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले बसपार्कमा निर्माण कार्य भइरहेकाले व्यवसायीहरूलाई अस्थायी रूपमा राजमार्गमै बस रोक्नुपर्ने बाध्यता रहेको बताए । बसपार्कको निर्माण कार्य सम्पन्न भएपछि बसहरूलाई व्यवस्थित रूपमा बसपार्कभित्रै राखिने उनले जानकारी दिए ।

तर, निर्माण कार्य जारी रहेको भन्दै व्यस्त राजमार्गलाई लामो समयसम्म पार्किङस्थलका रूपमा प्रयोग गर्न नहुने स्थानीयको भनाइ छ । उनीहरूले बसपार्कको निर्माण कार्य शीघ्र सम्पन्न गर्न, बसहरूलाई निर्धारित स्थानमै पार्किङ गराउन र राजमार्गमा हुने जथाभावी पार्किङ तत्काल नियन्त्रण गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

बसपार्क निर्माणमा भइरहेको ढिलाइ र राजमार्गमा देखिएको अव्यवस्थित पार्किङले जिरोमाइल क्षेत्रको ट्राफिक व्यवस्थापनलाई चुनौतीपूर्ण बनाएको छ ।