जनकपुरधाम, २४ असोज । जनकपुरधामस्थित राम युवा कमिटीले यस वर्षको दशैँ तथा दुर्गा पूजाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

कमिटीले बौधी माता र अमरखाना माइ मन्दिरमा आयोजना गर्दै आएको दुर्गा पूजालाई धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेको हो ।

घटस्थापनाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमार्फत कमिटीले पूजाआजासँगै दशैँको सांस्कृतिक महत्त्व झल्काउने विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । कमिटीले धार्मिक आस्था र परम्पराको संरक्षण गर्दै श्रद्धालुलाई उत्सवमा सहभागी गराउने उद्देश्यले कार्यक्रम तय गरेको जनाएको छ ।

कमिटीका अध्यक्ष विजयकुमार साहका अनुसार दशैँको द्वितीयादेखि षष्ठीसम्म प्रत्येक साँझ भजन कार्यक्रम आयोजना गरिनेछ । भजनमार्फत भक्तिमय वातावरण सिर्जना गर्नुका साथै धार्मिक गतिविधिमा श्रद्धालुको सहभागिता बढाउने लक्ष्य राखिएको उनले बताए ।

त्यसैगरी, सप्तमीका दिन मिथिलाको मौलिक लोकसंस्कृतिको अभिन्न अंगका रूपमा रहेको झिझिया नृत्य प्रतियोगिता आयोजना गरिनेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीलाई प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरिने अध्यक्ष साहले जानकारी दिए ।

अष्टमीका दिन महावीर युवा कमिटीसँगको सहकार्यमा बोकाबलि कार्यक्रम सञ्चालन गरिनेछ भने विजयादशमीका दिन रावण वध कार्यक्रम आयोजना गरी विजय उत्सव मनाइने कमिटीले जनाएको छ ।

धार्मिक पूजाआजा तथा सांस्कृतिक कार्यक्रमलाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न आवश्यक व्यवस्थापकीय तयारी भइरहेको कमिटीले जनाएको छ ।

राम युवा कमिटीले विगत ३६ वर्षदेखि जनकपुरधामको बौधी माता तथा अमरखाना माइ मन्दिरमा दुर्गा पूजाको आयोजना गर्दै आएको छ ।

लामो समयदेखि निरन्तर आयोजना हुँदै आएको पूजाले स्थानीय धार्मिक आस्था र सांस्कृतिक परम्परालाई निरन्तरता दिन योगदान पुर्याउँदै आएको छ ।