जनकपुरधाम, २३ असोज । जनकपुरधाम उपमहानगरपालिका–५ मा छुरा प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा पक्राउ परेका मोहम्मद इर्साद खान यसअघि पनि ज्यान मार्ने उद्योगको मुद्दाका अभियुक्त रहेको खुलेको छ ।

पुरानो घटनामा पक्राउ पर्न नसकेका उनी बिहीबार साँझ भएको अर्को हिंसात्मक घटनापछि प्रहरी नियन्त्रणमा आएका हुन् ।

बिहीबार साँझ जानकी मन्दिरनजिकै भएको छुरा प्रहारबाट जनकपुरधाम–५ सोनारपट्टीका २४ वर्षीय आमिन साफीको मृत्यु भएको छ भने सोही ठाउँका २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार स्थानीय करिब २२ वर्षीय इर्सादले दुवै युवकको छाती र पेटमा धारिलो हतियार प्रहार गरेका थिए । घटनालगत्तै प्रहरीले घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याएको थियो ।

अस्पतालमा चिकित्सकले जाँच गर्दा आमिनलाई मृत घोषणा गरेका थिए । उनको शव परीक्षणलगायत आवश्यक कानुनी प्रक्रिया पूरा गर्न अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते इम्तियाजको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले घटनामा संलग्न रहेको आरोपमा इर्सादलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए । उनका अनुसार घटनाको वास्तविक कारण र त्यसको पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा पुरानो रिसइवीका कारण घटना भएको खुलेको जनाइएको छ । यद्यपि, घटनाको कारण र त्यसमा संलग्न व्यक्तिहरूको भूमिकाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

पुरानो ज्यान मार्ने उद्योगको मुद्दामा पनि थिए अभियुक्त
इर्साद यसअघि नै ज्यान मार्ने उद्योगको मुद्दामा आरोपित रहेको प्रहरी अभिलेखले देखाउँछ । २०८२ फागुन ३ गते उनले जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलका २६ वर्षीय मोहम्मद मुस्तफा राइनमाथि खुकुरी प्रहार गरेको आरोप छ ।

उक्त घटना बकर इदका दिन भएको थियो । मुस्तफाको जाहेरीअनुसार इर्सादले उनलाई घरमा बोलाएर पसलमा लगेका थिए । त्यहाँ घाँटीमा खुकुरी राखेर काट्ने धम्की दिइएको र मुस्तफा भाग्न खोज्दा पछाडिबाट लखेटेर खुकुरी प्रहार गरिएको आरोप छ । त्यस क्रममा मुस्तफाको बायाँ हातमा खुकुरी लागेर उनी घाइते भएका थिए ।

उक्त घटनापछि मुस्तफाले इर्सादविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए । प्रहरीले उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा अघि बढाएको थियो ।

प्रहरीका अनुसार उक्त मुद्दामा इर्सादलाई पक्राउ गर्न धनुषा जिल्ला अदालतबाट गत असार ३१ गते नै पक्राउ अनुमति पुर्जी लिइएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयले साउन १८ गते जानकी प्रहरी चौकीलाई पत्राचार गर्दै उनको खोजी तथा पक्राउका लागि आवश्यक पहल गर्न निर्देशन दिएको थियो । तर, लामो समयसम्म उनी पक्राउ पर्न सकेका थिएनन् ।

डीएसपी खनालका अनुसार पुरानो मुद्दामा पनि इर्सादलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको थियो । प्रहरी टोली पटकपटक उनको घरसम्म पुगे पनि उनी फेला नपरेको खनालले बताए ।

ज्यान मार्ने उद्योगको आरोपमा खोजी भइरहेका इर्साद बिहीबारको छुरा प्रहारको घटनापछि भने प्रहरी नियन्त्रणमा आएका हुन् । पुरानो मुद्दामा पक्राउ पर्न नसकेको व्यक्तिबाट पुनः गम्भीर हिंसात्मक घटना भएको आरोप सार्वजनिक भएपछि प्रहरीको अनुसन्धान र पक्राउ प्रयासमाथि पनि चासो बढेको छ ।

सामाजिक सञ्जालमा पनि विवादास्पद गतिविधिको आरोप
इर्साद टिकटक र फेसबुकमा सक्रिय रहेको तथा सामाजिक सञ्जालमा ‘गुण्डा’ र ‘एमडी इर्साद खान’ नामबाट खाता सञ्चालन गर्ने गरेको विवरण सार्वजनिक भएको छ ।

उनीमाथि सामाजिक सञ्जालमा अर्को समुदायलाई लक्षित गरी घृणा फैलाउने, हिंसालाई प्रोत्साहन गर्ने तथा गालीगलौजयुक्त सामग्री राख्ने गरेको आरोपसमेत लागेको छ । यस्ता गतिविधिका कारण उनलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने माग यसअघि पनि उठेको बताइएको छ ।

यद्यपि, सामाजिक सञ्जालमा राखिएका सामग्रीको प्रकृति, त्यसको कानुनी अवस्था र ती सामग्रीसँग पछिल्लो घटनाको सम्बन्धबारे आधिकारिक अनुसन्धानबाट पुष्टि हुन बाँकी छ ।

स्थानीयवासीले इर्साद लागुऔषध सेवन गर्ने गरेको दाबी गरेका छन् ।

आमाको भूमिकाबारे पनि अनुसन्धान
बिहीबारको घटनापछि प्रहरीले इर्सादकी ४२ वर्षीया आमा सैमुख खातुनलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । घटनामा उनको संलग्नता वा भूमिका के थियो भन्नेबारे भने प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन ।

एक युवकको ज्यान गएको र अर्का युवक गम्भीर घाइते भएको घटनामा प्रहरीले पुरानो रिसइवी, घटनाको तत्कालीन कारण, प्रयोग गरिएको हतियार तथा संलग्न व्यक्तिहरूको भूमिकालगायत पक्षमा अनुसन्धान गरिरहेको छ ।

जनकपुरधामको व्यस्त क्षेत्र मानिने जानकी मन्दिर आसपास भएको यस घटनाले स्थानीय सुरक्षा अवस्थाबारे पनि प्रश्न उठाएको छ ।

प्रहरीले भने घटनामा संलग्न आरोपितलाई नियन्त्रणमा लिइसकेको र कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।