विवेक सरदार हत्या प्रकरणः तीन जना पुर्पक्षका लागि कारागार चलान
महोत्तरी, २३ असोज । महोत्तरीको बलवा नगरपालिका–७ बनौटामा २४ वर्षीय विवेक सरदारको विभत्स हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीले तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न र एक जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
अदालतको आदेशअनुसार बलवा नगरपालिका–७ बनौटाका अशोक ठाकुर, उनकी बुहारी सोनु ठाकुर र ज्वाइँ महोत्तरी गाउँपालिका–५ का सियाराम ठाकुरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको हो । अशोककी श्रीमती रामकली देवीलाई भने दुई लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।
मृतकका बुबा अशोककुमार बातर सरदारको जाहेरीका आधारमा दर्ता भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतका न्यायाधीश सञ्जीव पोखरेलको इजलासले उक्त आदेश गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी विश्वम्भरनाथ साहका अनुसार अदालतको आदेशपछि तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । धरौटी बुझाउन नसकेपछि रामकली देवीलाई समेत बिहीबार साँझ कारागार चलान गरिएको उनले जानकारी दिए ।
गत भदौ २६ गते बलवा नगरपालिका–७ बनौटास्थित अशोक ठाकुरको घरको शौचालयको सेफ्टी ट्यांकीमा भंगहा नगरपालिका–६ का २४ वर्षीय विवेक सरदारको शव टुक्राटुक्रा अवस्थामा फेला परेको थियो । शव नौ टुक्रा पारेर ट्यांकीमा राखिएको र माथिबाट प्लास्टर गरिएको अवस्थामा भेटिएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सोनु ठाकुरसँग प्रेम सम्बन्ध रहेको विषयलाई लिएर विवेकलाई भदौ १५ गते घरमा बोलाइएको र त्यहीँ उनको हत्या गरिएको आशंका गरिएको छ । घटनापछि शव लुकाइएको उक्त रहस्य ११ दिनपछि खुलेको थियो ।
प्रहरी अनुसन्धानमा हत्याको योजना बनाइएको र घटनामा संलग्न रहेको आशंकामा विदेशमा रहेका सोनुका श्रीमान् जितेन्द्र ठाकुरसमेत विदेशबाट आएको खुलेको जनाइएको छ । घटनापछि उनी फरार रहेको बताइएको छ ।
प्रकरणमा अदालतको आदेशसँगै पक्राउ परेका चारै जना कारागार पुगेका छन् भने फरार भनिएका जितेन्द्र ठाकुरको खोजी तथा अनुसन्धानको विषय अझै बाँकी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




