१५ लाखभन्दा बढीको अवैध सामान बरामद
पर्सा, २३ असोज । सशस्त्र प्रहरी बल पर्साले भारतबाट भन्सार छली नेपाल भित्र्याइँदै गरेका १५ लाख २८ हजार ४२० बराबरका विभिन्न सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्सा तथा मातहतका सीमा सुरक्षा इकाइबाट खटिएका टोलीले वीरगञ्ज महानगरपालिका र जगरनाथपुर गाउँपालिकाका विभिन्न सीमा क्षेत्रमा जाँच गर्ने क्रममा औषधि, तरकारी, मोटरसाइकल, कपडा तथा जुत्तालगायतका सामान नियन्त्रणमा लिएका हुन् ।
सशस्त्र प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–१६ स्थित भुटनदेवी मन्दिरनजिकको सीमा क्षेत्रमा खटिएको टोलीले रु ९ लाख २२ हजार ५०० बराबरको औषधि बरामद गरेको छ ।
भारतबाट अवैध रूपमा भन्सार छली नेपाल ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको उक्त औषधि आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
त्यस्तै, सोही महानगरपालिकाको वडा नं. १६ बाट ३ लाख २ हजार ९६० बराबरको मोटरसाइकल तथा तरकारी बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले जानकारी दिए ।
यसैगरी, सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज–१६ स्थित इनर्वा सीमा क्षेत्रबाट १ लाख ७७ हजार ८६० बराबरका कपडा तथा जुत्ता बरामद गरेको छ ।
पर्साकै जगरनाथपुर गाउँपालिका–२ स्थित लक्ष्मीपुर चोकबाट सीमा सुरक्षा गुल्म भिखमपुरको टोलीले १ लाख २५ हजार १०० बराबरका सामान तथा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
भारतसँग सीमा जोडिएको पर्साका विभिन्न नाकाबाट हुने अवैध आयात नियन्त्रण गर्ने क्रममा प्रहरीले उक्त सामान बरामद गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




