सीमाबाट २४ बोरा चकलेटसहित ६ नेपाली पक्राउ
बारा, १८ असोज । भारत–नेपाल सीमामा अवैध ओसारपसार नियन्त्रणका लागि गरिएको कारबाहीका क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले ९६० किलो चकलेटसहित ६ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ ।
बारासँग सीमा जोडिएको भारतको नायकटोला गाउँनजिक शनिबार साँझ एसएसबीको ७१औँ वाहिनीअन्तर्गत ई–कम्पनी बीओपी नायकटोलाको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
एसएसबीका अनुसार नेपालबाट साइकलमा सामान लिएर भारत प्रवेश गरेका र पुनः नेपालतर्फ फर्किँदै गरेका व्यक्तिहरूमाथि निगरानी गरिएको थियो ।
शंकास्पद गतिविधि देखिएपछि उनीहरूलाई रोकेर तलासी लिँदा ६ वटा साइकलमा लोड गरिएको २४ बोरा चकलेट बरामद भएको हो ।
बरामद चकलेटको कुल तौल ९६० किलो रहेको एसएसबीले जनाएको छ ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–मटिअर्वाका ४० वर्षीय राजु महतो, ४८ वर्षीय रामानन्द महतो, ४५ वर्षीय सुरेन्द्र महतो, ४७ वर्षीय रामप्रवेश मण्डल, ४५ वर्षीय महेन्द्र महतो र २२ वर्षीय विकासकुमार मण्डल रहेका छन् ।
एसएसबीले उनीहरू भारतबाट अवैध रूपमा चकलेट नेपालतर्फ लैजाने क्रममा पक्राउ परेको जनाएको छ । पक्राउ परेका नेपाली नागरिक, चकलेट तथा साइकललाई आवश्यक कानुनी कारबाहीका लागि मोतिहारीस्थित भन्सार कार्यालयमा बुझाइएको एसएसबीले जनाएको छ ।
सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण गर्न निगरानी र गस्तीलाई थप प्रभावकारी बनाइएको एसएसबीको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




