११० किलो गाँजासहित तीन जना पक्राउ
सिरहा, १७ असोज । सिरहाको औरही गाउँपालिका–१ दरैया क्षेत्रबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा ११० किलो ७६० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेमा औरही गाउँपालिका–२ का ४३ वर्षीय मिश्रीलाल सदाय, ३१ वर्षीय मनिकलाल सदाय र धनगढीमाई नगरपालिका–५ का ३३ वर्षीय श्यामसुन्दर यादव रहेका छन् ।
उनीहरूले टाउकोमा बोकेर भारततर्फ लैजाँदै गरेको अवस्थामा ६ वटा बोरामा राखिएको गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूको साथबाट तीन थान मोबाइलसमेत बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाले जानकारी दिए ।
प्रहरी स्रोतका अनुसार उदयपुर, सिन्धुलीलगायत जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा गाँजा खरिद गरी सिरहाका बलान, कमला, गागन र घुर्मीलगायत नदी तथा सीमावर्ती क्षेत्र प्रयोग गरेर भारततर्फ लैजाने गरेको पाइएको छ ।
यसअघि पनि सशस्त्र प्रहरीले सिरहाको सुखीपुर नगरपालिका–१० विश्वकर्मा चोकस्थित गागन खोलाको पुलबाट गाँजा बोकेको बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको थियो । उक्त घटनामा समेत ठूलो परिमाणमा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय सिरहाका विभिन्न नदी तथा सीमावर्ती क्षेत्रलाई प्रयोग गरी भारततर्फ हुने लागूऔषध तस्करी नियन्त्रण गर्न निगरानी बढाइएको सशस्त्र प्रहरी उपरीक्षक थापाले बताए ।
पक्राउ परेका व्यक्तिहरू र बरामद गाँजाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।


