जनकपुरधामबाट १६१ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ
जनकपुरधाम, १७ असोज । धनुषा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित बाबा पेट्रोल पम्प अगाडिबाट खैरो हेरोइनजस्तो देखिने लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–७ का अन्दाजी २७ वर्षीय अरविन्द कुमार साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शनिबार करिब ४ः२० बजे वडा प्रहरी कार्यालय मुजेलिया र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले महेन्द्रनगरबाट जनकपुरधामतर्फ आउँदै गरेको मोटरसाइकललाई शंका लागेर रोकी जाँच गरेको थियो ।
चेकजाँचका क्रममा प्र.२–०२–००१ प ७८८९ नम्बरको मोटरसाइकलको सिटमुनि लुकाएर राखिएको १६१ दशमलव ९७ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
पदार्थ बरामद भएपछि प्रहरीले मोटरसाइकल चालक साहलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका साहमाथि बरामद पदार्थको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
डीएसपी खनालले घटनाबारे जानकारी दिँदै लागुऔषध नियन्त्रणका लागि नियमित निगरानी तथा जाँचलाई निरन्तरता दिइएको बताए ।


