रौतहट, १७ असोज । रौतहटमा कार्यरत अतिरिक्त हुलाक कर्मचारीहरूले वर्षौंदेखि न्यून पारिश्रमिकमा काम गर्नुपरेको भन्दै आफ्नो सेवासुविधा सुधार गर्न सरकारसँग माग गरेका छन् ।

नियमित कार्यालय समयअनुसार काम गर्नुपर्ने भए पनि आफूहरूले पाउँदै आएको पारिश्रमिक अत्यन्तै न्यून रहेको उनीहरूको गुनासो छ ।

अतिरिक्त हुलाक कर्मचारीका अनुसार अहिले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालयमा काम गर्नुपर्ने व्यवस्था छ । तर, मासिक करिब ७ हजारदेखि ८ हजार रुपैयाँ मात्रै पारिश्रमिक पाउँदै आएका उनीहरूले दैनिक हिसाब गर्दा करिब २५० रुपैयाँ हाराहारीमा मात्र आम्दानी हुने बताएका छन् ।

फतुवा विजयपुर नगरपालिका–२ दुधियाबास्थित इलाका हुलाक कार्यालयमा कार्यरत अतिरिक्त हुलाक कर्मचारी तथा पत्रवितरक आनन्द पौडेलले आफू २० वर्षदेखि एउटै पदमा कार्यरत रहेको बताए । लामो समयसम्म राज्यको सेवा गरे पनि आफ्नो श्रमअनुसारको पारिश्रमिक र सेवासुविधा नपाएको उनको गुनासो छ ।

त्यस्तै, मिठुअबा अतिरिक्त हुलाकमा कार्यरत कर्मचारी तथा पत्रवितरक बिमला देवीले आफू १२ वर्षदेखि सेवा गर्दै आए पनि पाउँदै आएको पारिश्रमिकले परिवारको दैनिक खर्च धान्न कठिन भइरहेको बताइन् । उनका अनुसार मासिक ७ हजार २ सय रुपैयाँ पारिश्रमिकबाट घरायसी आवश्यकता पूरा गर्नसमेत समस्या हुने गरेको छ ।

कर्मचारीहरूले न्यून पारिश्रमिकका कारण कार्यालयमा आवश्यक पर्ने सरकारी पोशाक, परिचयपत्रलगायत सामग्रीको व्यवस्थापन गर्नसमेत समस्या हुने गरेको बताएका छन् ।

अनुगमनका क्रममा पोशाक तथा परिचयपत्रका विषयमा प्रश्न उठाइने गरे पनि त्यसका लागि आवश्यक खर्च जुटाउन आफूहरूलाई कठिन हुने उनीहरूको भनाइ छ ।

यसैगरी, लामो समयदेखि अतिरिक्त हुलाकमा कार्यरत कर्मचारी हुँदाहुँदै विभिन्न पालिकाका हुलाक कार्यालयमा करार कर्मचारी नियुक्त गर्ने गरिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन् ।

यसले राज्यको प्रशासनिक खर्च बढाउने तर वर्षौंदेखि सेवा गर्दै आएका अतिरिक्त हुलाक कर्मचारीको समस्या भने समाधान नगर्ने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ ।

कर्मचारीहरूका अनुसार विगतमा बिहान १० बजेदेखि काम गर्ने व्यवस्था रहे पनि अहिले कार्यालय समय बढाएर बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेवा दिनुपर्ने अवस्था छ । काम गर्ने समय र जिम्मेवारी बढ्दै गए पनि पारिश्रमिक तथा सेवा–सुविधामा अपेक्षित सुधार हुन नसकेको उनीहरूको गुनासो छ ।

वर्षौंदेखि न्यून पारिश्रमिकमा काम गर्दै आएका अतिरिक्त हुलाक कर्मचारीहरूले आफ्नो श्रमअनुसार उचित पारिश्रमिक, सेवासुविधा तथा सम्मानजनक कार्यव्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।

नयाँ सरकारबाट आफूहरूको समस्यालाई प्राथमिकताका साथ सम्बोधन गरिनेमा उनीहरूले आशा व्यक्त गरेका छन् ।