जनकपुरधाम, १७ असोज । मधेश प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को शुरुवाती दुई महिनामै विपद्का घटनामा परी ९२ जनाको मृत्यु भएको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार साउन र भदौ महिनामा भएका विभिन्न ४५९ विपद्का घटनामा ४७ पुरुष, १९ महिला र २६ बालबालिकाले ज्यान गुमाएका हुन् ।

प्रहरीको तथ्यांकअनुसार दुई महिनाको अवधिमा सबैभन्दा धेरै मानवीय क्षति करेन्ट लागेका घटनाबाट भएको छ । करेन्ट लागेर मात्रै ३९ जनाको मृत्यु भएको छ ।

त्यसैगरी पानीमा डुबेर २९, जङ्गली जनावरको आक्रमणबाट पाँच, चट्याङबाट तीन तथा आगलागीबाट एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य विभिन्न विपद्का घटनामा थप १३ जनाले ज्यान गुमाएका छन् ।

विपद्का घटनाको संख्या हेर्दा पनि करेन्ट लाग्ने र आगलागीका घटना उल्लेख्य देखिएका छन् । दुई महिनामा करेन्ट लागेका १०७ घटना भएका छन् भने आगलागीका ११२ घटना प्रहरीमा दर्ता भएका छन् ।

त्यस्तै, पानीमा डुब्ने ३७, जङ्गली जनावरको आक्रमणका ३२, बाढीका १२ तथा चट्याङका १० घटना भएका छन् ।

वर्षायाममा मधेशका विभिन्न जिल्लामा नदी, खोला, पोखरी तथा अन्य जलाशयमा पानीको सतह बढ्दा डुबान र डुब्ने घटनाको जोखिम बढ्ने गरेको छ ।ग्रामीण क्षेत्रमा रहेका पोखरी, खाल्डाखुल्डी तथा असुरक्षित जलाशयमा बालबालिका डुब्ने घटना हुने गरेका छन् ।

बाढी तथा डुबानका कारण कतिपय बस्ती प्रभावित हुने गरेका छन् । नदी तथा खोलाको बहाव बढ्दा मानव बस्तीका साथै सडक, घर तथा अन्य भौतिक संरचनामा समेत क्षति पुग्ने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।

त्यस्तै, विद्युतीय तार, उपकरण तथा विद्युत् प्रवाहसँग सम्बन्धित असावधानीका कारण पनि करेन्ट लाग्ने घटना हुने गरेका छन् । दुई महिनामा करेन्ट लागेका १०७ घटनामा ३९ जनाको मृत्यु भएपछि यसलाई प्रदेशमा मानवीय क्षतिको प्रमुख कारणका रूपमा प्रहरीले औँल्याएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले आगलागी तथा करेन्टसँग सम्बन्धित घटनाबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि पूर्वसावधानी र जनचेतना आवश्यक रहेको बताए । उनका अनुसार विपद् हुनुअघि अपनाइने सावधानीले मानवीय क्षति कम गर्न महत्वपूर्ण भूमिका खेल्छ ।

विपद्का कारण मानवीय क्षतिसँगै ठूलो परिमाणमा भौतिक सम्पत्तिसमेत नष्ट भएको छ । प्रहरीका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा भएका ४५९ विपद्का घटनाबाट दुई करोड ९२ लाख ४७ हजार ५५५ रुपैयाँ बराबरको भौतिक क्षति भएको छ ।

यसमा सबैभन्दा ठूलो क्षति आगलागीबाट भएको छ । आगलागीका घटनाबाट मात्रै दुई करोड ७० लाख १३ हजार ३५० रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्यांक छ । आगलागीका कारण २१२ परिवारका घरसमेत जलेका छन् ।

त्यस्तै, बाढी तथा पहिरोबाट ११ लाख ९० हजार रुपैयाँ, चट्याङबाट तीन लाख रुपैयाँ, जङ्गली जनावरको आक्रमणबाट दुई लाख ७२ हजार रुपैयाँ र अन्य विभिन्न विपद्का घटनाबाट चार लाख ६३ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

विपद्का कारण कतिपय परिवार विस्थापित भएका छन् भने कतिपयको घर, खाद्यान्न तथा अन्य सम्पत्तिमा क्षति पुगेको छ । आगलागीका घटनाले परिवारलाई ठूलो आर्थिक क्षतिसँगै तत्काल सुरक्षित आवासको समस्या सिर्जना गर्ने गरेको छ ।

विपद्का घटनामा परेका नागरिकको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत व्यवस्थापनका लागि स्थानीय प्रशासन, स्थानीय तह र सुरक्षा निकायले समन्वय गर्दै आएका छन् ।

प्रहरीका अनुसार दुई महिनाको अवधिमा विपद् व्यवस्थापन तथा उद्धारका क्रममा दुई हजार ८६९ जना प्रहरी परिचालन भएका छन् । मधेश प्रदेशका आठवटै जिल्लामा विपद् व्यवस्थापन तथा उद्धारका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

एसएसपी ढकालका अनुसार विपद्का समयमा तत्काल उद्धार तथा राहतका लागि सम्बन्धित निकायबीच समन्वय आवश्यक हुन्छ । सम्भावित जोखिम क्षेत्रको पहिचान, पूर्वतयारी तथा नागरिकस्तरमा जनचेतना विस्तार गर्न सके विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सकिने प्रहरीको भनाइ छ ।

चालु आर्थिक वर्षको शुरुवाती दुई महिनाको तथ्यांकले मधेश प्रदेशमा विपद् व्यवस्थापनसँगै करेन्ट, आगलागी, डुबान तथा पानीमा डुब्ने घटनाको जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्नुपर्ने अवस्था देखाएको छ ।