भोटेकोशी बाढीमा बेपत्ता सैनिकको कुशको शव बनाएर अन्तिम संस्कार
रौतहट, १७ असोज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी डेढ महिनाभन्दा बढी समयदेखि बेपत्ता रहेका रौतहटका एक सैनिक जवानको हिन्दु धार्मिक परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ ।
रौतहटको मौलापुर नगरपालिका–७ सगैयाका बैधनाथ साह कानुका २२ वर्षीय छोरा अभिषेक गुप्ता नेपाली सेनाको श्री शेरगण कार्यालय रसुवामा जवान पदमा कार्यरत थिए । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि उनी बेपत्ता भएका थिए ।
बाढीमा बेपत्ता भएपछि परिवारजनले लामो समयसम्म उनको खोजी तथा सकुशल फर्किने आशामा प्रतीक्षा गर्दै आएका थिए । तर, डेढ महिनाभन्दा बढी समय बितिसक्दा पनि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेपछि परिवारले हिन्दु धार्मिक परम्पराअनुसार कुशको शव आकृति बनाएर अन्तिम संस्कार गर्ने निर्णय गरेको हो ।
अभिषेकको शव हालसम्म फेला परेको छैन । लामो समयसम्म खोजी गर्दा पनि कुनै जानकारी प्राप्त नभएपछि धार्मिक विधिअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको परिवारजनले बताएका छन् ।
अभिषेक नेपाली सेनामा कार्यरत रहँदा भोटेकोशी क्षेत्रमा आएको बाढीमा परी बेपत्ता भएका थिए । शव फेला नपरे पनि परिवारले धार्मिक तथा सामाजिक परम्पराअनुसार उनको अन्तिम बिदाइ गरेको हो ।
अन्तिम संस्कारका क्रममा नेपाली सेनाको नारायण दल गण गौर पुरेनवाबाट प्रमुख सेनानी कर्णेल विश्वास विष्टको नेतृत्वमा पुगेको सेनाको टोलीले सैनिक सम्मानसहित सलामी अर्पण गरेको थियो ।
बाढीमा बेपत्ता भएको लामो समयसम्म पनि अभिषेकको अवस्था पत्ता नलागेपछि परिवारजनले कुशको शवमार्फत अन्तिम संस्कार गर्नुपरेको हो ।


