जनकपुरधाम, १७ असोज । स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झा मधेश प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाको निर्देशक पदमा बढुवा भई नियुक्त भएका छन् ।

स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका डा. झालाई प्रदेश स्वास्थ्य निर्देशनालयको नेतृत्वको जिम्मेवारी दिइएको हो ।

उनको पदोन्नतिसँगै प्रदेशमा स्वास्थ्य सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउन योगदान पुग्ने विश्वास गरिएको छ ।

स्वास्थ्य कार्यालय सर्लाहीको प्रमुखका रूपमा कार्यरत रहँदा डा. झाले स्वास्थ्य सेवा व्यवस्थापन तथा सेवा प्रवाहका क्षेत्रमा जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।

अब स्वास्थ्य निर्देशनालयको नेतृत्व सम्हाल्दै प्रदेशभरका स्वास्थ्य कार्यक्रमको समन्वय, अनुगमन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने जिम्मेवारी आफूमाथि थपिएको उनले बताए ।

डा. झाको नियुक्तिपछि स्वास्थ्य क्षेत्रका सहकर्मी, शुभचिन्तक तथा स्थानीयवासीले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।