कांग्रेस धनुषा–३ को क्षेत्रीय सभापतिमा यादव निर्वाचित
जनकपुरधाम, १७ असोज । नेपाली कांग्रेस धनुषा क्षेत्र नम्बर–३ को क्षेत्रीय सभापतिमा विनयकुमार यादव निर्वाचित भएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संस्थापन पक्षबाट भएको क्षेत्रीय अधिवेशनमा यादव क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् ।
त्यस्तै, धनुषा क्षेत्र नम्बर–३ बाट नेपाली कांग्रेसका संस्थापन पक्षतर्फ खुला महाधिवेशन प्रतिनिधिमा १० जना निर्वाचित भएका छन् ।
खुलातर्फ सर्वाधिक मत प्राप्त गर्नेमा जीवनाथ चौधरी रहेका छन् । उनले ६७७ मत प्राप्त गरे । त्यसपछि गणेश झाले ६५०, रामसरोज यादवले ६४७ र प्रफुल्ल घिमिरेले ६४५ मत प्राप्त गरेका छन् ।
यसैगरी हरिशंकर शाहले ५९१, रामबाबु यादवले ५८१, मनोजकुमार साहले ५७९, पप्पु ठाकुरले ५४८, सुनिलकुमार झाले ५१३ तथा राजकुमार साहले ५११ मत प्राप्त गर्दै खुला महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
क्षेत्रीय सभापति तथा महाधिवेशन प्रतिनिधिको निर्वाचनसँगै धनुषा–३ मा कांग्रेसको आगामी महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधित्वसमेत तय भएको छ ।


