स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ
रौतहट, १७ असोज । रौतहटको गौर भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार गौर नगरपालिका–१ स्थित भन्सार कार्यालय अगाडि संयुक्त चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई जनालाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा भारतको शिवहर जिल्ला रामपुर भटहा थाना निवासी मोहन गिरीका २२ वर्षीय छोरा करण कुमार गिरी र सोही स्थानका रामेश्वर रायका ३५ वर्षीय छोरा लालबाबु राय रहेका छन् ।
भन्सार सुरक्षा गार्ड तथा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म, गौरबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट स्रोत नखुलेको भारतीय रुपैयाँ १ लाख ८ हजार ५ सय र एउटा मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ ।
प्रहरीका अनुसार बरामद भारतीय रुपैयाँको स्रोत तथा पक्राउ परेका व्यक्तिहरू नेपाल प्रवेश गर्नुको उद्देश्यबारे अनुसन्धान भइरहेको छ । घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।


