पोखरीमा युवक मृत फेला
रौतहट, १७ असोज । रौतहटको फतुवा विजयपुर नगरपालिका–१ बैरगिनिया टोलमा एक युवक पोखरीमा मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी वसन्त गौतमका अनुसार स्थानीय रामहरि दासका छोरा अन्दाजी २८ वर्षीय राजेश दास अरविन्द यादव पोखरीमा मृत अवस्थामा फेला परेका हुन् ।
पोखरीमा युवक घोप्टो परेको अवस्थामा देखेपछि स्थानीयले बिहान १० बजेर ५ मिनेटमा प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय सन्तपुरबाट प्रहरी सहायक निरीक्षक विनोद पासवानको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धान अघि बढाएको छ । घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट प्रहरी निरीक्षक रादेश कुमार खत्रीको नेतृत्वमा वैज्ञानिक अनुसन्धानसहितको टोलीसमेत घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राजेशको मृत्यु पोखरीमा डुबेर भएको हो वा अन्य कुनै कारणबाट भएको हो भन्ने विषय अझै स्पष्ट भएको छैन । घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको र विस्तृत विवरण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।


