जटही नाकामा नेपाल–भारत सुरक्षा अधिकारीको बैठक सम्पन्न
जनकपुरधाम, १६ असोज । धनुषाको जटही नाकामा नेपाल र भारतका सीमा सुरक्षा अधिकारीबीच क्रस–बोर्डर बैठक सम्पन्न भएको छ ।
बैठकमा खुला सीमाका कारण हुने अवैध गतिविधि, तस्करी तथा सीमा अपराध नियन्त्रणका लागि दुवै देशका सुरक्षा संयन्त्रबीच समन्वय थप प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।
सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलको संयोजकत्वमा सम्पन्न बैठकमा सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रण, अवैध ओसारपसार तथा लागुऔषध कारोबार रोकथामका विषयमा छलफल गरिएको हो ।
महानिरीक्षक पौडेलका अनुसार खुला सीमाका कारण एक देशमा अपराध गरी अर्को देशतर्फ भाग्ने तथा सीमापारबाट लागुऔषधलगायत अवैध वस्तुको ओसारपसार हुने चुनौती रहेकाले त्यसको नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच सूचना आदानप्रदान, समन्वय र निगरानीलाई थप प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल भएको छ ।
बैठकमा सीमा क्षेत्रमा हुने तस्करी तथा अन्य अवैध गतिविधिमाथि निगरानी बढाउने, सीमा अपराध नियन्त्रणका लागि आपसी समन्वय कायम गर्ने तथा आवश्यक सूचनाको आदानप्रदानलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।
बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा भारतीय सीमा सुरक्षा बल (एसएसबी) पिपरौनका प्रमुख राजेन्द्रकुमार, सहायक प्रमुख रजनीशकुमार मोरललगायतका अधिकारी सहभागी थिए । जनकपुर भन्सार कार्यालयका कर्मचारीहरूको समेत बैठकमा सहभागिता रहेको थियो ।
नेपाल–भारतबीचको खुला सीमाका कारण उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई संयुक्त प्रयासबाट न्यूनीकरण गर्न यस्ता सीमा समन्वय बैठकले सहयोग पुग्ने सुरक्षा अधिकारीहरूले बताए ।
जटही नाकामा भएको बैठकलाई सीमा सुरक्षा तथा अपराध नियन्त्रणमा दुवै देशका सुरक्षा निकायबीच समन्वय सुदृढ गर्ने प्रयासका रूपमा लिइएको छ ।


