जनकपुरधाम, १६ असोज । जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार शुक्रबार विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका उनीहरूलाई खोजतलास तथा आवश्यक समन्वय गरी पक्राउ गरिएको हो ।

पक्राउ परेकामध्ये तीन जनालाई कुटपिट मुद्दामा जनही ३ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

त्यस्तै, अन्य ६ जना भने ज्यान मार्ने उद्योग, डाँका तथा लागुऔषधसम्बन्धी मुद्दामा दोषी ठहर भई जनही ६ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना सजाय तोकिएका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका सबै ९ जनालाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

प्रहरीले अदालतबाट सजाय तोकिएर फरार रहेका अन्य व्यक्तिको समेत खोजतलास तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ ।