जनकपुरधाम, १६ असोज । जनकपुरधामस्थित श्री गंगासागर छठ पूजा समितिको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ ।

समितिको निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै विभिन्न पदमा उम्मेदवारी दर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

समितिको अध्यक्ष पदका लागि सतिष कुमार लाल दास, सोनु कुमार निधि र कमलेश दासले उम्मेदवारी दिएका छन् । त्यस्तै, उपाध्यक्ष पदका लागि सन्तोष कुमार गुप्ता र रामचन्द्र पंजियार उम्मेदवार बनेका छन् ।

कोषाध्यक्ष पदमा राजकुमार साह र शिबुलाल दासले उम्मेदवारी दिएका छन् भने सचिव पदमा मोहन कुमार रायको उम्मेदवारी परेको छ । सहसचिव पदका लागि महेश खत्वे मण्डल र मनोज कुमार झाले उम्मेदवारी दिएका छन् ।

यसैगरी सदस्य पदमा केशव शर्मा, महेन्द्र खत्वे र बशन्त वाग्ले निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृत दिनेश शर्माद्वारा जारी सूचनाअनुसार बिहीबार निर्वाचन कार्यक्रम तथा मतदाता नामावली प्रकाशन गरिएको थियो । सोही दिन मतदाता नामावलीमा नाम थप तथा संशोधनका लागि आवेदन दर्ता, दाबी–विरोध तथा अन्तिम मतदाता नामावली प्रकाशनको प्रक्रिया अघि बढाइएको थियो ।

त्यस्तै, शुक्रबार बिहान १० बजेदेखि दिउँसो १२ः३० बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको थियो । त्यसपछि उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशनको कार्यक्रम तय गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यक्रमअनुसार शनिबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने र मतदान सम्पन्न भएपछि मतगणना गरी नतिजा घोषणा गरिनेछ ।

समितिले गंगासागर छठ पूजाको व्यवस्थापन तथा सञ्चालनलगायतका धार्मिक तथा सामाजिक गतिविधि गर्दै आएको छ ।

नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनलाई लक्षित गर्दै समितिको निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित मतदाता तथा उम्मेदवारलाई तोकिएको समय र निर्वाचन प्रक्रियाअनुसार सहभागी हुन आग्रह गरेको छ ।