जनकपुरधाम, १६ असोज । जिल्ला प्रहरी कार्यालय धनुषाले चालु आर्थिक वर्ष २०८३/०८४ को करिब चार महिनाको अवधिमा प्रहरीले गरेका विभिन्न गतिविधि तथा अनुसन्धानको प्रगति विवरण सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी २०८३ जेठ २३ गतेदेखि असोज १५ गतेसम्मको कार्यप्रगति विवरण सार्वजनिक गरेको हो ।

धनुषा प्रहरीले अपराध अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागूऔषध नियन्त्रण, घरेलु तथा सामाजिक हिंसा नियन्त्रण, अवैध कारोबार नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा समुदाय प्रहरी साझेदारीलगायतका क्षेत्रमा प्रहरीले गरेका कामबारे जानकारी गराएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काका अनुसार उक्त अवधिमा धनुषामा ५ सय ९९ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये चालु तथा पेन्डिङसहित ५ सय ९० वटा मुद्दा फछ्र्यौट गरिएको छ ।

फछ्र्यौट भएका मुद्दामध्ये चालु मुद्दा मात्र २ सय २३ वटा रहेको एसपी खड्काले बताए । हाल ६६ वटा चालु मुद्दा अनुसन्धानका क्रममा रहेका छन् भने विगतदेखि हालसम्म जिल्लामा कुल १ हजार २ सय ७० वटा मुद्दा पेन्डिङ रहेको धनुषा प्रहरीले जनाएको छ ।

फैसला कार्यान्वयनतर्फ प्रहरीले उल्लेखनीय संख्यामा फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ । प्रहरीले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका ६ सय ३८ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ परेका प्रतिवादीबाट अदालतले तोकेको २ सय ३० वर्ष ९ महिना २६ दिन कैद तथा २ करोड १४ लाख ९१ हजार ५ सय ४२ रुपैयाँ जरिवाना कार्यान्वयनका लागि असुलउपर गरिएको एसपी खड्काले बताए ।

सीमा क्षेत्रमा हुने चोरी निकासी तथा अवैध कारोबार नियन्त्रणका क्रममा प्रहरीले ८६ लाख ९६ हजार ८ सय ६६ रुपैयाँ बराबरको सवारीसाधन, लत्ताकपडा तथा किराना सामग्री बरामद गरेको जनाएको छ ।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुर पठाइएको छ । सो क्रममा ११ वटा मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले विभिन्न स्थानबाट ३९ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट ४ सय ७५ दशमलव ५१६ किलो गाँजा, ४ सय २३ दशमलव १ ग्राम ब्राउन सुगर, ८ सय १० थान नाइट्रोभेट ट्याब्लेट तथा डाइजिपामलगायतका २ हजार ४ सय ८७ थान इन्जेक्सन एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

लागूऔषध सेवनकर्ताका रूपमा पहिचान भएका ३९ जनालाई सुधारात्मक कारबाही गरिएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार उक्त अवधिमा घरेलु हिंसासम्बन्धी ३ सय ७७ वटा उजुरी परेका थिए । तीमध्ये ३ सय ४९ वटा उजुरीमा मिलापत्र गरिएको छ भने २८ वटा उजुरी अनुसन्धान प्रक्रियामा रहेका छन् ।

त्यस्तै, सामाजिक हिंसासम्बन्धी ३ सय २० वटा उजुरी परेकोमा २ सय ९६ वटा मिलापत्र गरिएको र २४ वटा उजुरी अनुसन्धानका क्रममा रहेको प्रहरीले जनाएको छ ।

मानिस खोजतलासतर्फ धनुषामा विभिन्न समयमा हराएका २ सय १ जनाको विवरण प्रहरीले प्राप्त गरेको जनाएको छ । हराउनेमा ८७ महिला, २० बालक र ८९ बालिका रहेका छन् ।

प्रहरीको खोजतलासबाट हालसम्म १ सय ३३ जना फेला परिसकेका छन् भने ६८ जनाको खोजतलास जारी रहेको छ ।

प्रहरीले समुदायसँगको साझेदारीमा विभिन्न जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ ।

लागूऔषध, दाइजो प्रथा, लैङ्गिक हिंसा, सामाजिक सञ्जालको दुरुपयोग, ज्येष्ठ नागरिक तथा महिला बालबालिकाविरुद्ध हुने अपराध, आगलागी, जातीय छुवाछुत तथा भेदभाव, अल्पसंख्यक समुदायसँग प्रहरीको सम्बन्ध तथा बोक्सी प्रथाविरुद्ध २ सय ७७ वटा कार्यक्रम सञ्चालन गरिएको छ ।

ती कार्यक्रमबाट ८ हजार ९ सय ५० जना लाभान्वित भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयमा प्राप्त विभिन्न उजुरी तथा निवेदनतर्फ ८ सय ८३ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये ६ सय ९२ वटा फछ्र्यौट गरिएको र १ सय ९१ वटा उजुरी अनुसन्धान प्रक्रियामा रहेको एसपी श्रेष्ठले जानकारी दिए ।

यसैगरी नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका क्रममा ४२ वटा सवारीसाधन नियन्त्रणमा लिई २ लाख ५२ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

प्रहरीले ९ सय ३५ लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको जनाएको छ ।

सवारी दुर्घटना न्यूनीकरणका लागि धनुषा प्रहरीले विभिन्न स्थानमा १ हजार ५ सय ४५ वटा ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको जनाएको छ । ती कार्यक्रमबाट ८० हजार ७ सय ६० जना लाभान्वित भएका छन् ।

ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार २ सय २६ वटा सवारीसाधनलाई कारबाही गरी २३ लाख ७८ हजार ५ सय १ रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले आफ्नो कार्यप्रगति सार्वजनिक गर्दै पछिल्लो अवधिमा भएका केही महत्वपूर्ण अनुसन्धानका घटनाबारे समेत जानकारी गराएको छ ।

विदेह नगरपालिका–६, तीनकोरियाका कमलेश महतोका १५ महिनाका छोरा सिद्धान्त महतो २०८३ भदौ १८ गते आफ्नै घरको आँगनमा खेलिरहेका बेला हराएका थिए ।

घटनाको अनुसन्धानका क्रममा बालकलाई धनुषाको कमला नगरपालिका–९, हथलेट्वाकी करिब ४१ वर्षीया पुनिता देवी पासवानले अपहरण गरेको खुलेपछि प्रहरीले जिल्लाका विभिन्न नाकामा २४ घण्टा प्रहरी परिचालन गर्नुका साथै प्राविधिक अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ ।

प्रहरीका अनुसार २०८३ भदौ २९ गते करिब ३ः३५ बजे बालकलाई उद्धार गरिएको थियो । भारततर्फ भाग्दै गरेको अवस्थामा विदेह नगरपालिका–१, महिनाथपुरस्थित दशगजा क्षेत्रबाट शंकित महिलालाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घटनामा अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

धनुषा प्रहरीले हुण्डी कारोबारसम्बन्धी अनुसन्धानमा समेत ठूलो रकमको शंकास्पद कारोबार फेला परेको जनाएको छ ।

शहीदनगर नगरपालिका–४ ननुपट्टीका २४ वर्षीय अजय कुमार मुखियाले आफ्नै प्रोप्राइटर रहेको श्री न्यू अजय ट्रेडर्सको नाममा विभिन्न बैंकमा खोलिएका १३ वटा खातामार्फत १ अर्ब २२ करोड १५ लाख ६४ हजार ८ सय ५१ रुपैयाँ बराबरको रकम १७ हजार ४ सय ३८ पटक रकमान्तर गरी हुण्डी कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

मुखियालाई २०८३ भदौ ३० गते केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा हालसम्म १ अर्ब ४६ करोड २२ लाख १४ हजार ८ सय ४७ रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगामी दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरी धनुषामा सुरक्षा व्यवस्था थप सुदृढ बनाइएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

चाडपर्वका क्रममा ७० वटा पिकेट, ४६ वटा पैदल गस्ती, ७ वटा बजार अनुगमन, ७ वटा विशेष अपरेसन, १५ वटा विपद् प्रतिकार्य टोली, १३ वटा गाडी मोबाइल टोली तथा लालगढमा एकवटा चेक प्वाइन्ट परिचालन गर्ने व्यवस्था गरिएको उनले बताए ।

लामो दूरीका सवारीसाधनमा चेकजाँच, दैनिक नियमित चेकिङ तथा बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र मोटरसाइकल चोरी नियन्त्रणका लागि विशेष सुरक्षा कार्ययोजना लागू गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, लागूऔषध नियन्त्रणका लागि समेत छुट्टै कार्ययोजना बनाएर परिचालन बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चाडपर्वको समयमा सीमा क्षेत्र तथा संवेदनशील स्थानमा विशेष निगरानी बढाउनुका साथै विभिन्न तहका गस्तीलाई प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उक्त अवधिमा विभिन्न अभियान तथा चाडपर्व लक्षित सुरक्षा व्यवस्थापनमा गरी १ हजार २ सय ११ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय धनुषाले अपराध नियन्त्रणसँगै अनुसन्धानलाई प्रभावकारी बनाउने, फरार प्रतिवादी पक्राउ गर्ने, लागूऔषध तथा अवैध कारोबार नियन्त्रण गर्ने र नागरिकसँग प्रहरीको सहकार्यलाई थप विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको जानकारी दिएको छ ।