जनकपुरधाम, १६ असोज । मधेश प्रदेश सभाको बैठक साढे दुई महिनादेखि बस्न नसक्दा सभामुख रामअशिष यादवले सरकारको चासोप्रति प्रश्न उठाएका छन् ।

प्रदेश सभा बैठक आह्वानका विषयमा आफूले मुख्यमन्त्री कृष्णप्रसाद यादवसँग पटकपटक छलफल गरे पनि मन्त्रिपरिषद्बाट बैठक बोलाउने निर्णय हुन नसकेको सभामुख यादवले बताए ।

उनका अनुसार प्रदेश सभा लामो समयदेखि बैठकविहीन हुँदा विधायिकी काम प्रभावित हुनुका साथै प्रदेशसभा सदस्यहरू जनप्रतिनिधिको मुख्य जिम्मेवारीबाट समेत टाढा रहनुपर्ने अवस्था बनेको छ ।

सभामुख यादवले प्रदेश सभा बैठक सञ्चालन गर्ने विषय सरकारको प्राथमिकतामा पर्नुपर्ने बताए ।

उनले मुख्यमन्त्रीसँगको भेट तथा छलफलमा बैठक आह्वानका लागि पटकपटक ध्यानाकर्षण गराए पनि अहिलेसम्म मन्त्रिपरिषद्बाट औपचारिक निर्णय नआएको जानकारी दिए ।

सभामुख यादवले भने, ‘मैले मुख्यमन्त्रीज्यूसँग पटकपटक प्रदेश सभा बैठक बोलाउने विषयमा छलफल गरेको छु । तर, मन्त्रिपरिषद्बाट बैठक आह्वान गर्ने निर्णय नआएकाले बैठक बस्न सकेको छैन । प्रदेशसभा सञ्चालन गर्ने विषयमा सरकारको पर्याप्त चासो देखिन आवश्यक छ।’

प्रदेश सभा बैठक नबसे पनि प्रदेश सभा सदस्यहरूको तलबभत्ता लगायतका शीर्षकमा राज्यकोषबाट खर्च भने भइरहेको छ ।

पछिल्लो साढे दुई महिनाको अवधिमा प्रदेश सभा सदस्यहरूको तलबभत्तामा मात्रै करिब १ करोड ४० लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।

बैठक सञ्चालन नभएको अवस्थामा समेत ठूलो रकम तलबभत्तामा खर्च भइरहँदा प्रदेश सभा सञ्चालनमा सरकारको उदासीनताप्रति प्रश्न उठेको छ ।

प्रदेश सभाको बैठक नियमित रूपमा सञ्चालन गरी आवश्यक कानुन निर्माण, सरकारका कामकारबाहीमाथि छलफल तथा जनताका समस्या सदनमा उठाउने वातावरण बनाउनुपर्नेमा सभामुख यादवले जोड दिएका छन् ।