जनकपुरधामलाई व्यवस्थित बनाउन जनसरोकार अभियानको ५ बुँदे माग
जनकपुरधाम, १६ असोज । जनकपुरधाम उपमहानगरपालिकाभित्र सरसफाइ, सडकबत्ती, सडक तथा नाला व्यवस्थापन, ट्राफिक व्यवस्थापन र पर्यटकमैत्री वातावरण निर्माणमा तत्काल सुधार गर्न माग गरिएको छ ।
जनसरोकार अभियानले जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहलाई ज्ञापनपत्र बुझाउँदै धार्मिक तथा ऐतिहासिक नगरीको पहिचान कायम राख्न नगर क्षेत्रको आधारभूत व्यवस्थापनमा सुधार आवश्यक रहेको जनाएको हो ।
अभियानका अध्यक्ष जितेन्द्र महासेठ तथा महासचिव कौशल्या कुशवाहासहितको टोलीले शुक्रबार नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै जनकपुरधामको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राखेर नगर व्यवस्थापनलाई प्राथमिकतामा राख्न माग गरेको छ ।
अभियानले लामो समयदेखि नियमित तथा प्रभावकारी फोहोर व्यवस्थापन हुन नसक्दा जनकपुरधामका विभिन्न स्थानमा दुर्गन्ध फैलिने तथा फोहोरका कारण जनस्वास्थ्यमा समेत असर पर्न सक्ने अवस्था रहेको जनाएको छ ।
धार्मिक पर्यटकीय नगरीका रूपमा देश विदेशमा पहिचान बनाएको जनकपुरधाममा नियमित सरसफाइसँगै दीर्घकालीन फोहोर व्यवस्थापनको योजना कार्यान्वयन गर्न माग गरिएको अभियानका अध्यक्ष महासेठले बताए ।
जानकी मन्दिर तथा आसपासको क्षेत्रलाई लक्षित गरी विशेष सरसफाइको व्यवस्था गर्न अभियानले माग गरेको उनले बताए ।
सरकारले जनकपुरधामका केही क्षेत्रलाई विशेष संरक्षित क्षेत्र घोषणा गरेको सन्दर्भ उल्लेख गर्दै संरक्षित क्षेत्रको गरिमा झल्किने गरी सरसफाइ तथा व्यवस्थापन गर्नुपर्ने अभियानको भनाइ छ ।
त्यस्तै, नगरभित्र सडकबत्ती तथा गल्लीका पोलबत्तीको अवस्था सुधार गर्न पनि माग गरिएको छ ।
सडक तथा गल्लीमा पर्याप्त प्रकाशको व्यवस्था नहुँदा चोरीलगायतका घटना बढ्न सक्ने भन्दै चाडपर्वको समयमा समेत नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउन तत्काल सडकबत्ती मर्मत तथा सञ्चालन गर्न अभियानले आग्रह गरेको छ ।
अभियानले जनकपुरधामका विभिन्न सडक जीर्ण तथा भत्किएको भन्दै तत्काल मर्मत गर्न माग गरेको महासेठले जानकारी दिए ।
सडकको खराब अवस्थाका कारण पैदल यात्रु तथा सवारीसाधन सञ्चालनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको ज्ञापनपत्रमा उल्लेख छ ।
त्यसैगरी, सडक तथा नालाका खुला र जीर्ण चेम्बर तत्काल मर्मत गर्नुपर्ने माग गरिएको छ । खुला चेम्बरका कारण पैदल यात्रु जोखिममा पर्ने गरेको उल्लेख गर्दै हालै एक बालिकाको खुट्टा चेम्बरमा फसेर गम्भीर जोखिममा परेको घटनासमेत अभियानले स्मरण गराएको छ ।
सडकपेटीको टुटफुट भएको भागको मर्मत तथा पैदल यात्रुका लागि सहज आवागमनको व्यवस्था गर्न पनि अभियानले माग गरेको छ ।
सडक, नाला, चेम्बर र फुटपाथको नियमित निरीक्षण गरी जोखिमयुक्त स्थान तत्काल पहिचान गरेर मर्मत गर्नुपर्ने उनको भनाइ छ ।
जनसरोकार अभियानले जनकपुरधामको ट्राफिक व्यवस्थापनलाई पनि व्यवस्थित बनाउन माग गरेको छ ।
नगरभित्र अटो रिक्सा अव्यवस्थित रूपमा सञ्चालन हुँदा पैदल यात्रु तथा अन्य सवारी चालकलाई आवागमनमा समस्या हुने गरेको भन्दै अटो रिक्सा सञ्चालनलाई व्यवस्थित गर्न आग्रह गरिएको छ ।
अटो रिक्साको पार्किङ, रुट तथा सञ्चालनसम्बन्धी विगतमा भएका सर्वपक्षीय निर्णय कार्यान्वयन गर्न पनि अभियानले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
अभियानले जनकपुरधाम आउने पर्यटक तथा तीर्थयात्रीले भोग्नुपरेका समस्यालाई पनि गम्भीर रूपमा लिनुपर्ने जनाएको छ ।
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको शहरमा सरसफाइ, सडक, बत्ती, ट्राफिक र सार्वजनिक पूर्वाधारको उचित व्यवस्थापन नहुँदा पर्यटकमा नकारात्मक प्रभाव पर्न सक्ने अध्यक्ष महासेठको भनाइ छ ।
पर्यटकलाई सहज र सुरक्षित वातावरण उपलब्ध गराउन सके जनकपुरधामको धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अभियानले जनाएको छ ।
जनसरोकार अभियानले नगरपालिकालाई ज्ञापनपत्रमा उल्लेखित विषयमा तत्काल आवश्यक कदम चाल्दै जनकपुरधामलाई स्वच्छ, सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री धार्मिक नगरीका रूपमा विकास गर्न आग्रह गरेको छ ।




