नापजाँच भएको नौ वर्षपछि बटेश्वरका १८६ परिवारले पाए लालपुर्जा
जनकपुरधाम, १६ असोज । धनुषाको बटेश्वर गाउँपालिका–३ र ४ का १८६ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब नौ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
साबिक बटेश्वर गाविसका वडा नं. १ देखि ९ सम्मका स्ववासी परिवारले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्व अब औपचारिक रूपमा प्राप्त गरेका हुन् ।
नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो ।
उक्त क्षेत्रको जग्गा नापजाँच तथा नापनक्साको काम २०७४ सालमै सम्पन्न भएको थियो ।
नापजाँच सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लालपुर्जा वितरणको काम लामो समयदेखि रोकिएको थियो ।
रोकिएको प्रक्रिया अघि बढाइएपछि अहिले १८६ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो ।
लालपुर्जा प्राप्त भएपछि वर्षौंदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको कानुनी स्वामित्वसमेत स्थापित भएको छ ।
जग्गाधनी प्रमाणपुर्जा प्राप्त भएपछि स्थानीय बासिन्दालाई आफ्नो जग्गाको स्वामित्व प्रमाणित गर्न, बैंक तथा वित्तीय संस्थामा जग्गा धितो राखेर ऋण लिन तथा भूमिसम्बन्धी विवाद समाधान गर्न सहज हुने नापी कार्यालय धनुषाका प्रमुख उमेश कुमारले बताए ।
धनुषाका विभिन्न क्षेत्रमा स्ववासी तथा अन्य प्रक्रियाबाट हालसम्म ४ हजार ५५४ परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरिसकेका छन् ।


