शल्यक्रियाको तयारी भइरहेका बेला वडाध्यक्षको निधन
सर्लाही, १६ असोज । सर्लाहीको बागमती नगरपालिका–३ धरहराका वडाध्यक्ष तिलकबहादुर मोक्तानको निधन भएको छ ।
मुटुसम्बन्धी समस्याबाट पीडित ४७ वर्षीय मोक्तानको शुक्रबार बिहान काठमाडौंमा निधन भएको बागमती नगरपालिकाका कार्यवाहक नगरप्रमुख कृष्णकुमार लामाले जानकारी दिए ।
स्वास्थ्य उपचारका लागि करिब एक महिनाअघि काठमाडौं पुगेका मोक्तानको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा आगामी असोज २२ गते मुटुको शल्यक्रिया गर्ने तयारी गरिएको थियो । तर, शल्यक्रियाको मिति आउनुअघि नै उनको निधन भएको हो ।
केही दिनदेखि ज्वरो आएपछि काठमाडौंस्थित आफ्नै कोठामा आराम गरिरहेका मोक्तानको शुक्रबार बिहान निधन भएको बागमती नगरपालिका–२ का वडाध्यक्ष टेकबहादुर बलले जानकारी दिए ।
मोक्तान २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट बागमती नगरपालिका–३ को वडाध्यक्षमा निर्वाचित भएका थिए । उनको निधनपछि बागमती नगरपालिकामा जनप्रतिनिधि तथा स्थानीयवासीमा शोक छाएको छ ।
स्थानीय तहको जनप्रतिनिधिका रूपमा मोक्तानले आफ्नो वडाको विकास तथा नागरिकका विभिन्न समस्यामा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए ।


