अदालतको आदेश कागजमै सीमित, ‘प्रहरीकै अगाडि कुटिएँ’ भन्दै न्याय खोज्दै अल्का
जनकपुरधाम, १३ असोज । जनकपुरधाम उपमहानगरपालिका–७ की अल्का देवी साहले आफ्नो घर तथा बाटोसम्बन्धी लामो समयदेखि चलिरहेको विवादमा आफू र आफ्नो परिवारमाथि निरन्तर दबाब, मुद्दा र कुटपिटको अवस्था सिर्जना गरिएको आरोप लगाएकी छन् ।
अदालतबाट भएको आदेश कार्यान्वयन गराउन खोज्दा समेत आफूले प्रहरी तथा स्थानीय निकायबाट अपेक्षित सहयोग नपाएको उनको गुनासो छ ।
अल्काका अनुसार छिमेकी पक्षसँग घर निर्माण, बाटोको प्रयोग तथा सार्वजनिक बाटोमा राखिएको चापाकललगायत विषयमा लामो समयदेखि विवाद हुँदै आएको छ । विवादकै क्रममा आफूलाई विभिन्न मुद्दामा फसाउने, दबाब दिने र पटकपटक कुटपिटसमेत गर्ने गरिएको उनको आरोप छ ।
उनले विवादको मुख्य कारण आफ्नो घरसँग जोडिएको बाटो तथा छिमेकीले मापदण्डविपरीत निर्माण गरेको संरचना रहेको बताएकी छन् ।
यससम्बन्धी विवाद अदालतसम्म पुगेको र अदालतबाट आदेशसमेत भइसकेको अवस्थामा आदेश कार्यान्वयनका लागि आफूले सम्बन्धित निकायमा पटकपटक निवेदन दिएको उनको भनाइ छ ।
अदालतको आदेश कार्यान्वयन गर्न निवेदन
उपलब्ध कागजातअनुसार जनकपुरधाम उपमहानगरपालिका–७ निवासी राकेश प्रसाद साह र सोही ठाउँका शम्भु साह, सूर्यदेव साह तथा मुकेश साहबीच बिना नक्सा अनुमति, मापदण्डविपरीत बाटो च्यापी घर निर्माणसम्बन्धी विवाद अदालतसम्म पुगेको देखिन्छ ।
उक्त विषयमा २०७८ साल भदौ २९ गते उजुरी निवेदन दर्ता भएको र २०८० साल भदौ १३ गते फैसला भएको कागजातमा उल्लेख छ । फैसलामा मापदण्डविपरीत निर्माण गरिएको संरचनासम्बन्धी विषयमा निर्णय गर्दै छज्जी भत्काउने तथा जरिवानासम्बन्धी आदेश भएको उल्लेख गरिएको छ ।
त्यसपछि फैसला कार्यान्वयनका लागि सम्बन्धित पक्षले जनकपुरधाम उपमहानगरपालिकामा निवेदन दिएको देखिन्छ । निवेदनमा अदालतको फैसला कार्यान्वयन गर्न माग गर्दै स्थानीय तहबाट आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ ।
यसै विषयमा उच्च अदालत जनकपुरको रिट शाखाबाट समेत जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी जिरोमाइललाई पत्राचार भएको कागजातमा देखिन्छ ।

२०८३ जेठ २१ गते जारी पत्रमा अदालतको आदेश तथा फैसला कार्यान्वयनका लागि आवश्यक समन्वय गरिदिन र त्यसबारे अदालतलाई जानकारी गराउन भनिएको छ ।
अदालतको पत्रमा निवेदक राकेश प्रसाद साहले फैसला कार्यान्वयनका लागि निवेदन दिएको उल्लेख गर्दै सम्बन्धित प्रहरी निकायलाई आवश्यक सहयोग तथा समन्वय गर्न अनुरोध गरिएको छ ।
‘अदालतको आदेश हुँदाहुँदै पनि समस्या समाधान भएन’
अल्का देवीका अनुसार अदालतसम्म पुगेको विषयमा कानुनी प्रक्रिया अघि बढे पनि व्यवहारमा आफूले राहत पाउन सकेकी छैनन् ।
उनले घरअगाडि रहेको बाटोको प्रयोगमा समस्या सिर्जना हुने गरी संरचना निर्माण गरिएको बताइन् । घरको अगाडिको बाटो अवरुद्ध हुने अवस्था आएपछि आफूहरूले सम्बन्धित निकायमा निवेदन दिएको उनको भनाइ छ ।
‘घरको अगाडिको बाटो नै प्रभावित हुने गरी संरचना राखिएको छ । बाटो प्रयोग गर्न समस्या भएपछि अदालत र नगरपालिकासम्म पुग्नुपर्याे,’ उनले भनिन् ।
अल्काका अनुसार समस्या समाधानका लागि उपमहानगरपालिकामा समेत पटकपटक पुग्दा स्पष्ट समाधान नआएपछि आफूहरूले पत्रकार सम्मेलन गरेर विषय सार्वजनिक गरेका थिए ।
पत्रकार सम्मेलनपछि सञ्चारकर्मीहरूले स्थलगत अवस्था हेरेको र विवादित स्थानको अवस्थाबारे जानकारी लिएको उनको भनाइ छ ।
अल्काले आफूहरूले आफ्नो समस्या समाधानका लागि कानुनी बाटो रोजेपछि विपक्षी पक्षबाट समेत विभिन्न मुद्दा लगाउने क्रम बढेको आरोप लगाएकी छन् ।
एउटा विवाद समाधान नहुँदै अर्को मुद्दा थपिँदै गएपछि परिवार निरन्तर तनावमा परेको उनको भनाइ छ । आफूले न्यायका लागि अदालत, उपमहानगरपालिका र प्रहरी प्रशासन धाउनुपरेको तर समस्याको स्थायी समाधान हुन नसकेको उनको गुनासो छ ।
‘एउटा समस्या समाधान गर्न खोज्दा अर्को मुद्दा थपिन्छ । हामी न्यायका लागि निकायमा पुगिरहेका छौँ । तर, समस्या झन् बढ्दै गएको छ,’ उनले भनिन् ।
उनले विवादमा संलग्न व्यक्तिहरूले स्थानीय महिला पुरुषलाई आफ्नो पक्षमा पारेर आफूहरूमाथि सामाजिक दबाब सिर्जना गर्ने गरेको आरोपसमेत लगाएकी छन् ।
प्रहरीकै अगाडि कुटपिट गरेको आरोप
अल्काले आफूलाई विपक्षी पक्षका महिलाहरूले प्रहरीको उपस्थितिमै कुटपिट गरेको आरोप लगाएकी छन् ।
उनका अनुसार विवादित विषयमा प्रहरी घटनास्थलमा पुगेका बेला आफूलाई कुटपिट गरिएको थियो । प्रहरीको अगाडि नै कुटपिट हुँदा पनि तत्कालै आफूले अपेक्षा गरेको कारबाही नभएको उनको गुनासो छ ।

‘प्रहरीकै अगाडि मलाई कुटपिट गरियो । त्यहाँ धेरै प्रहरी थिए । तर, तत्काल पक्राउ गरेर कारबाही गर्नुभन्दा घटना दर्ता गरेर प्रक्रिया अघि बढाउन भनियो,’ उनले भनिन् ।
उनका अनुसार त्यसपछि उनले जिल्ला प्रहरी कार्यालय धनुषामा पुगेर लिखित जाहेरी दिएकी थिइन् ।
उपलब्ध कागजातअनुसार अल्का देवीले २०८३ असार २६ गते जिल्ला प्रहरी कार्यालय धनुषामा अभद्र व्यवहारसम्बन्धी कसुरमा जाहेरी दरखास्त दिएकी छन् ।
जाहेरीमा जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने सोही वडाका पूर्ववडाध्यक्ष जानकीराम साहकी श्रीमती मधु साह र सोही स्थानका शम्भु साहकी श्रीमती अञ्जु साहलाई आरोपित गरिएको छ ।
जाहेरीमा घटनाको विवरण उल्लेख गर्दै आफूलाई अभद्र व्यवहार तथा कुटपिट गरिएको दाबी गरिएको छ । जाहेरीकर्ताले अनुसन्धानका क्रममा वा अदालतमा मुद्दा चल्दा उपस्थित हुनुपर्ने भए उपस्थित हुने प्रतिबद्धतासमेत जनाएकी छन् ।
यसबाट विवाद घर तथा बाटोको संरचनासम्म मात्र सीमित नरही पछिल्लो समय व्यक्तिगत विवाद, अभद्र व्यवहार र प्रहरीमा जाहेरीसम्म पुगेको देखिन्छ ।
अल्काको अर्को गुनासो प्रहरी अनुसन्धानको प्रक्रियासँग जोडिएको छ ।
उनका अनुसार आफूले घटनामा संलग्न रहेको दाबी गरिएका धेरै व्यक्तिविरुद्ध कारबाहीको माग गरे पनि प्रहरीबाट सीमित व्यक्तिविरुद्ध मात्र पक्राउ पुर्जी जारी भएको जानकारी आफूले पाएकी छन् ।
उनले आफूले घटनामा संलग्न व्यक्तिहरू सबैमाथि अनुसन्धान हुनुपर्ने माग गर्दै आएकी बताइन् ।
‘मैले धेरै व्यक्तिको नाममा जाहेरी दिएको थिएँ । तर, दुई जनाको मात्र पक्राउ पुर्जी आएको जानकारी पाएँ । सबैको भूमिका अनुसन्धान हुनुपर्छ भन्ने मेरो माग हो,’ उनले भनिन् ।
यद्यपि, पक्राउ पुर्जी जारी गर्ने वा नगर्ने विषय अनुसन्धानको प्रमाण, कानुनी प्रक्रिया र सम्बन्धित निकायको निर्णयमा निर्भर रहने भएकाले यसबारे प्रहरीको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ ।
पसलमा खानतलासीको विषयमा पनि प्रश्न
विवादकै क्रममा आफूले सञ्चालन गर्ने पसलमा समेत प्रहरीले खानतलासी गरेको अल्काको भनाइ छ ।
उनका अनुसार प्रहरी टोली पसलमा आएर खानतलासी गर्न खोज्दा आफूले त्यसको कानुनी आधारबारे प्रश्न गरेकी थिइन् । त्यसक्रममा प्रहरी टोली पसलभित्र प्रवेश गरी काउन्टर तथा अन्य स्थानमा जाँच गरेको उनले बताइन् ।
आफूले खानतलासीसम्बन्धी आदेश वा पुर्जी देखाउन आग्रह गरे पनि स्पष्ट जानकारी नदिइएको उनको दाबी छ ।
‘खानतलासी गर्न आएको हो भने कानुनी प्रक्रिया देखाउनुस् भनेर मैले भनेँ । तर, त्यसबारे स्पष्ट जानकारी दिइएन,’ उनले भनिन् ।
उनका अनुसार घटनास्थलमा केही प्रहरी पसलभित्र र केही बाहिर बसेका थिए । आफूले पसलको खानतलासी निष्पक्ष ढंगले हुनुपर्ने तथा आवश्यक परे त्यसको अभिलेखसमेत सुरक्षित राखिनुपर्ने माग गरेकी छन् ।
यस विषयमा प्रहरीले भने अनुसन्धानको क्रममा आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको वा नगरिएकोबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
विवादको केन्द्रमा बाटो र निर्माण संरचना
उपलब्ध कागजात तथा पीडित पक्षको भनाइ हेर्दा विवादको मूल विषय घर निर्माण र बाटोको प्रयोगसँग जोडिएको देखिन्छ ।
जनकपुरधाम उपमहानगरपालिकामा दायर गरिएको निवेदनमा विपक्षीले बिना नक्सा अनुमति तथा मापदण्डविपरीत बाटो च्यापेर घर निर्माण गरेको आरोप लगाइएको छ । अदालतबाट त्यससम्बन्धी फैसला भइसकेको दाबी निवेदनमा गरिएको छ ।
निवेदनमा घरको छज्जी बाटोमा परेको र त्यसलाई हटाउनुपर्ने उल्लेख छ । छज्जी हटाउने तथा जरिवानासम्बन्धी अदालतको निर्णय कार्यान्वयन गर्न माग गर्दै नगरपालिकामा निवेदन दिइएको देखिन्छ ।
तर, फैसला कार्यान्वयनको व्यवहारिक प्रक्रिया अघि बढ्न नसक्दा विवाद थप लम्बिएको पीडित पक्षको भनाइ छ ।
घर निर्माणको नक्सा, सडकको मापदण्ड तथा सार्वजनिक बाटोको अतिक्रमणसम्बन्धी विषय स्थानीय तहको अधिकार क्षेत्रसँग समेत जोडिन्छ । त्यसैले विवाद समाधानमा जनकपुरधाम उपमहानगरपालिकाको भूमिका महत्वपूर्ण छ ।
पीडित पक्षले उपमहानगरपालिकामा निवेदन दिँदा समेत लामो समयसम्म समस्या समाधान नभएको आरोप लगाएको छ ।
अदालतको आदेश कार्यान्वयनका लागि उच्च अदालत जनकपुरबाट जिल्ला प्रहरी कार्यालय धनुषा र जिरोमाइल प्रहरी चौकीलाई पत्राचार भएको कागजातमै उल्लेख छ । यसले सम्बन्धित निकायलाई फैसला कार्यान्वयनमा आवश्यक समन्वय गर्न भनिएको देखाउँछ । तर, पीडित पक्षले भने आदेश कार्यान्वयनमा ढिलाइ भएको र त्यसैबीच विवाद थप चर्किएको गुनासो गरिरहेको छ ।
लामो समयदेखि चलिरहेको विवाद, अदालत तथा प्रहरी कार्यालयको धाइधाउ र आफूविरुद्ध भएका भनिएका घटनाले आफू मानसिक तथा सामाजिक रूपमा समेत समस्यामा परेको अल्काको भनाइ छ ।
उनले आफूले कसैसँग व्यक्तिगत बदला लिन नभई अदालतबाट भएको निर्णय र कानुनी प्रक्रियाअनुसार न्याय खोजिरहेको बताएकी छन् ।

‘बारम्बार कुटपिट हुने, मुद्दा लाग्ने र न्यायका लागि कार्यालय धाउनुपर्ने अवस्था भयो भने समाजमा हाम्रो इज्जत र सुरक्षा कसरी रहन्छ?’ उनको प्रश्न छ ।
उनले अदालतबाट फैसला भइसकेका विषयको निष्पक्ष कार्यान्वयन, आफूले दिएको जाहेरीको निष्पक्ष अनुसन्धान तथा घटनामा संलग्न सबैमाथि कानुनअनुसार अनुसन्धान हुनुपर्ने माग गरेकी छन् ।


