जनकपुरधाममा भारतीय प्रशिक्षकको एक साताको क्रिकेट फिटनेस क्याम्प हुने
जनकपुरधाम, १४ असोज । जनकपुरधाम र आसपासका क्रिकेट खेलाडीका लागि भारतीय क्रिकेट क्षेत्रका अनुभवी प्रशिक्षक तथा फिटनेस प्रशिक्षकको सहभागितामा एक साताको क्रिकेट फिटनेस क्याम्प सञ्चालन हुने भएको छ ।
राष्ट्रिय क्रिकेट खेलाडी हरिशंकर साहका अनुसार आईपीएलमा पञ्जाब किङ्सबाट खेलिरहेका प्रियंश आर्याका साथै दिल्लीबाट रणजी ट्रफी खेल्ने विभिन्न खेलाडीका फिटनेस प्रशिक्षकले जनकपुरधाममा एक सातासम्म फिटनेस क्याम्प सञ्चालन गर्ने तयारी गरेका छन् ।
साहका अनुसार उक्त क्याम्पमा जनकपुरधाम तथा आसपासका क्रिकेट खेलाडीलाई शारीरिक तन्दुरुस्ती, खेल क्षमता र अन्तर्राष्ट्रिय स्तरको क्रिकेटमा आवश्यक पर्ने तयारीबारे प्रशिक्षण दिइनेछ ।
यसैगरी, भारतीय क्रिकेट प्रशिक्षक सञ्जय भारद्वाजले पनि समय मिलाएर जनकपुरधाममा केही दिन क्रिकेट क्याम्प सञ्चालन गर्ने तयारी गरेका छन् ।
भारद्वाज भारतीय क्रिकेटका चर्चित खेलाडी गौतम गम्भीर, नितिश राणा, अमित मिश्र, प्रियंश आर्यालगायतका खेलाडीका प्रशिक्षक तथा मार्गदर्शकका रूपमा परिचित छन् ।

साहका अनुसार भारद्वाजले जनकपुरधामका बालबालिका तथा युवा क्रिकेट खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा खेल्न आवश्यक पर्ने प्राविधिक पक्ष, अनुशासन, शारीरिक तयारी र खेल कौशलका विषयमा मार्गदर्शन गर्नेछन् ।
स्थानीयस्तरमा क्रिकेटको आधार बलियो बनाउँदै प्रतिभावान खेलाडीलाई उच्चस्तरीय प्रशिक्षणको अवसर प्रदान गर्ने उद्देश्यले क्याम्प आयोजना गर्न लागिएको साहले बताए ।


