जनकपुरधाम, १४ असोज । जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयको जग्गाको स्वामित्वसम्बन्धी कागजात पूरा हुन नसक्दा संघीय सरकारले विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि उपलब्ध गराउने भनिएको ६ करोड रुपैयाँ बजेट कार्यान्वयनमै समस्या देखिएको छ ।

विद्यालयसँग जग्गासम्बन्धी पुराना अभिलेख तथा निर्णयहरू रहे पनि जग्गाधनी प्रमाणपुर्जा विद्यालयको नाममा नरहेका कारण बजेट कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढ्न नसकेको हो ।

समयमै जग्गाको स्वामित्वसम्बन्धी समस्या समाधान नभए विद्यालयका लागि छुट्याइएको बजेट नै गुम्ने जोखिम बढेको विद्यालय प्रशासनले जनाएको छ ।

याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय झाका अनुसार विद्यालयको जग्गासम्बन्धी पुराना श्रेस्ता, अभिलेख तथा निर्णयहरू सुरक्षित छन् ।

ती कागजातका आधारमा विद्यालयको नाममा जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढाउन गुठी संस्थानसँग पटकपटक आग्रह गरिए पनि अपेक्षित रूपमा प्रक्रिया अगाडि बढ्न नसकेको उनले बताए ।

‘विद्यालयसँग लालपुर्जा नभए पनि जग्गासम्बन्धी पुराना अभिलेख र निर्णयहरू छन् । त्यसैका आधारमा विद्यालयको नाममा जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढाउन गुठी संस्थानसँग पटकपटक आग्रह गरेका छौँ, ‘प्रधानाध्यापक झाले भने, ‘तर, सम्बन्धित कार्यालयबाट आवश्यक प्रक्रिया अघि नबढ्दा समस्या यथावत् छ ।’

प्रधानाध्यापक झाका अनुसार पुराना अभिलेखमा विद्यालयलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने विषय उल्लेख गरिएको छ । सोही आधारमा गुठी संस्थानले मालपोत कार्यालयसँग आवश्यक पत्राचारसमेत गरेको थियो ।

मालपोत कार्यालयले आवश्यक कागजात तथा प्रक्रिया पूरा गर्न आग्रह गरेपछि विद्यालयले आफ्नो तर्फबाट आवश्यक कागजात जुटाउने र प्रक्रिया पूरा गर्ने प्रयास गर्दै आएको झाको भनाइ छ ।

तर, गुठी संस्थान र मालपोत कार्यालयबीचको पत्राचार, आवश्यक कागजात तथा प्रक्रियागत विषयमा देखिएको अल्झनका कारण विद्यालयको जग्गाको स्वामित्वसम्बन्धी समस्या समाधान हुन सकेको छैन ।

विद्यालयका अनुसार यही प्रक्रियागत अन्योलले अहिले करोडौँ रुपैयाँको विकास बजेट कार्यान्वयनमै असर पारेको छ ।

संघीय सरकारले याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयका लागि भौतिक संरचना निर्माण गर्न करिब ६ करोड रुपैयाँ बजेट उपलब्ध गराउने व्यवस्था गरेको छ । विद्यालयको पूर्वाधार विकास तथा अध्ययनरत विद्यार्थीका लागि आवश्यक संरचना निर्माणमा उक्त रकम खर्च गर्ने योजना छ ।

तर, सरकारी बजेटबाट विद्यालयको जग्गामा भौतिक संरचना निर्माण गर्न जग्गाको स्वामित्व खुल्ने प्रमाणिक कागजात आवश्यक पर्ने भएकाले लालपुर्जा अभाव अहिले मुख्य अवरोध बनेको प्रधानाध्यापक झाको भनाइ छ ।

उनका अनुसार बजेट प्राप्त गरेका अन्य विद्यालयमा भौतिक संरचना निर्माणका लागि टेन्डर प्रक्रिया अगाडि बढिसकेको छ । तर, याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयको हकमा जग्गाको स्वामित्वसम्बन्धी कागजात नै स्पष्ट हुन नसकेपछि निर्माणसम्बन्धी टेन्डर प्रक्रिया अघि बढाउन कठिनाइ भएको छ ।

‘बजेट आएको छ, विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता पनि उत्तिकै छ । तर, जग्गाको लालपुर्जा नहुँदा टेन्डर प्रक्रिया रोकिएको छ,’ झाले भने ।

विद्यालयमा हाल २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको बताइएको छ । विद्यार्थीको संख्या ठूलो भए पनि विद्यालयको भौतिक पूर्वाधार भने आवश्यकताअनुसार पर्याप्त नभएको विद्यालय प्रशासनको भनाइ छ ।

संघीय सरकारबाट प्राप्त हुने भनिएको ६ करोड रुपैयाँबाट नयाँ तथा आवश्यक भौतिक संरचना निर्माण गर्ने योजना रहेकाले बजेट कार्यान्वयन हुन नसक्दा त्यसको प्रत्यक्ष असर विद्यालयको शैक्षिक वातावरणमा पर्ने चिन्ता विद्यालय प्रशासनले व्यक्त गरेको छ ।

विद्यालयका अनुसार बजेट कार्यान्वयनमा ढिलाइ हुँदै गए निर्माण प्रक्रिया थप प्रभावित हुने र अन्ततः विनियोजित रकम नै खर्च हुन नसक्ने अवस्था आउन सक्छ ।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले समेत विद्यालयको जग्गाको लालपुर्जा उपलब्ध गराउने विषयमा गुठी संस्थानको भूमिकामाथि प्रश्न उठाएका छन् ।

उनले पुराना श्रेस्तामा उक्त जग्गाको स्वामित्व विद्यालयकै नाममा रहेको देखिए पनि गुठी संस्थानले विद्यालयको नाममा लालपुर्जा उपलब्ध गराउने प्रक्रियालाई निकास दिन नसक्नु दुःखद भएको बताए ।

शिक्षाजस्तो संवेदनशील क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणका लागि आएको बजेटसमेत जग्गाको कागजातका कारण प्रभावित हुनु गम्भीर विषय भएको उनको भनाइ छ ।

‘पहिलेका श्रेस्तामा जग्गाको स्वामित्व विद्यालयकै नाममा रहेको अवस्थामा पनि लालपुर्जा उपलब्ध गराउने बाटो नखोलिनु दुःखद हो,’ साहले भने, ‘शिक्षा जस्तो क्षेत्रमा समेत गुठी संस्थानको हेलचक्र्याइँका कारण बजेट नै गुम्ने अवस्था आउनु गम्भीर विषय हो ।’

उनले सम्बन्धित निकायले प्रक्रियागत समस्या समाधान गरी विद्यालयको नाममा आवश्यक कागजात उपलब्ध गराउनेतर्फ तत्काल पहल गर्नुपर्ने बताए ।

याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयको जग्गासम्बन्धी स्वामित्वको विषय लामो समयदेखि प्रक्रियागत समस्यामा अल्झिँदै आएको छ ।

विद्यालयसँग जग्गासम्बन्धी पुराना अभिलेख र निर्णयहरू भए पनि औपचारिक जग्गाधनी प्रमाणपुर्जा प्राप्त हुन नसक्दा विद्यालयले विभिन्न किसिमका प्रशासनिक तथा विकाससम्बन्धी समस्या झेल्दै आएको जनाएको छ ।

अहिले संघीय सरकारबाट भौतिक पूर्वाधार निर्माणका लागि आएको ठूलो बजेटले यही पुरानो समस्यालाई थप सतहमा ल्याएको छ ।

विद्यालयका लागि आवश्यक भौतिक संरचना निर्माण गर्न बजेट सुनिश्चित भए पनि जग्गाको स्वामित्व प्रमाणित गर्ने कागजातको अभावमा निर्माण प्रक्रिया अगाडि बढ्न नसक्नुले सरकारी विकास बजेट कार्यान्वयनको प्रक्रियामाथि समेत प्रश्न उठाएको छ ।