जनकपुरधाम, १४ असोज । धनुषा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जिल्ला अदालत धनुषाबाट फैसला भई कैद तथा जरिवाना सजाय तोकिएका उनीहरूलाई प्रहरीले खोजतलासका क्रममा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा लागूऔषध मुद्दाका दुई जना, सवारी ज्यान मुद्दाका एक जना तथा चोरी मुद्दाका तीन जना रहेका छन् ।

अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले उनीहरूको खोजी गरेको थियो ।

खोजतलास तथा आवश्यक समन्वयपछि उनीहरूलाई पक्राउ गरी कानुनी कारबाहीका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार लागूऔषध मुद्दामा सजाय पाएका दुई जनालाई जनही २ महिना कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । त्यस्तै, सवारी ज्यान मुद्दामा एक जनालाई ९ महिना कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

चोरी मुद्दामा पक्राउ परेका तीन जनामध्ये एक जनालाई ५ महिना ८ दिन कैद र ६ हजार रुपैयाँ जरिवाना, अर्का एक जनालाई २ महिना कैद र ७ हजार रुपैयाँ जरिवाना तथा तेस्रो व्यक्तिलाई ४ महिना २० दिन कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार अदालतबाट सजाय तोकिएपछि वारदातपश्चात फरार रहेका उनीहरूलाई विभिन्न स्थानबाट खोजी गरी पक्राउ गरिएको हो ।

पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि धनुषा जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

प्रहरीले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएर फरार रहेका अन्य प्रतिवादीहरूको समेत खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ ।

अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ ।