बलराम महतोले दिए जसपाबाट राजीनामा
जनकपुरधाम, १४ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य बलराम महतोले पार्टीको साधारण सदस्यसहित आफूले सम्हाल्दै आएको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
महतोले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाउँदै आफूले लामो समयदेखि पार्टीप्रति राख्दै आएको राजनीतिक आस्था, प्रतिबद्धता र योगदानलाई सम्मानका साथ स्मरण गर्दै पार्टीबाट अलग हुने निर्णय गरेको बताएका छन् ।
उनले पछिल्लो समय आफ्नो निर्माण व्यवसायमा पुनः सक्रिय हुनुपर्ने अवस्था आएकाले पार्टीको जिम्मेवारीलाई विगतमा जस्तै सक्रिय, प्रभावकारी र निरन्तर रूपमा निर्वाह गर्न कठिन भइरहेको उल्लेख गरेका छन् ।
महतोले पार्टीबाट अलग हुनुको कारण व्यक्तिगत असन्तुष्टि वा नेतृत्वसँगको विवाद नभई आफ्नो व्यावसायिक जिम्मेवारी र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने सोच रहेको बताए ।
राजीनामा पत्रमा उनले राजनीति कुनै व्यक्तिले निरन्तर पदमा रहिरहने माध्यम मात्र नभई नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्दै संगठनलाई गतिशील बनाउने प्रक्रिया भएको उल्लेख गरेका छन् ।
‘युवा पुस्ताका सक्षम, ऊर्जाशील र नयाँ सोच भएका साथीहरूलाई अगाडि बढ्ने अवसर प्रदान गर्नुपर्छ भन्ने मेरो दृढ विश्वास छ,’ उनले राजीनामा पत्रमा भनेका छन् ।
महतोले आफूले सम्हाल्दै आएको केन्द्रीय सदस्य पदसहित पार्टीका कुनै पनि जिम्मेवारी तथा साधारण सदस्यबाट समेत राजीनामा दिएको बताए ।
महतोले आफ्नो राजीनामालाई नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने स्वाभाविक र स्वेच्छिक निर्णयका रूपमा बुझिदिन पार्टी नेतृत्वसँग आग्रह गरेका छन् ।



