जानकी मन्दिर विश्वसम्पदा सूचीमा पार्न समिति गठन, युनेस्कोमा प्रतिवेदन बुझाइने
जनकपुरधाम, १४ असोज । जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्वको जानकी मन्दिरलाई युनेस्कोको विश्व सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढाउन सरोकारवालाले पहल थालेका छन् ।
जानकी मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा वास्तुकलाको महत्वलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्दै यसको दीर्घकालीन संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढाउन लागिएको हो ।
यसका साथै नेपाल सरकारले जानकी मन्दिरसहितको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरिसकेको अवस्थामा उक्त निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयलाई समेत प्राथमिकतामा राखिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहका अनुसार जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक प्रक्रिया अघि बढाउन प्रारम्भिक प्रतिवेदन तयार पारिएको छ । उक्त प्रतिवेदनमाथि जनकपुरधामका समाजका अगुवा, विज्ञ तथा सरोकारवालासँग सुझाव संकलन गरी अन्तिम रूप दिने तयारी भइरहेको उनले बताए ।
उनका अनुसार अन्तिम प्रतिवेदन तयार भएपछि विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रियाका लागि युनेस्कोमा पेस गर्ने योजना छ । प्रतिवेदन तयार पार्ने कामका लागि नगरप्रमुखको संयोजकत्वमा समिति गठन गरिएको समेत उनले जानकारी दिए ।
नेपाल सरकारले गत भदौ १३ गते मन्त्रिपरिषद्बाट जानकी मन्दिरसहितको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेको अवस्थामा त्यसको कार्यान्वयन प्रक्रिया अघि बढाउनुपर्ने विषयमा पनि छलफल भएको छ ।
पुरातत्व क्षेत्रमा काम गरिसकेका रामबाबु दहालका अनुसार संरक्षित क्षेत्रको चार किल्लाभित्र पर्ने मठमन्दिर, सरोवर तथा अन्य ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थलहरूको सर्वेक्षण गर्नुपर्ने आवश्यकता छ ।
उनका अनुसार संरक्षित क्षेत्र घोषणा गर्नु मात्र पर्याप्त नभई त्यसको प्रभावकारी कार्यान्वयनका लागि क्षेत्रभित्र रहेका सम्पदाको पहिचान, अभिलेखीकरण, संरक्षण तथा व्यवस्थापनसम्बन्धी काम व्यवस्थित रूपमा अघि बढाउन आवश्यक छ ।
‘संरक्षित क्षेत्रलाई व्यवहारमा कार्यान्वयनमा ल्याउन सबै पक्षबीच समन्वय आवश्यक छ,’ दहालले भने, ‘चार किल्लाभित्र रहेका ऐतिहासिक तथा धार्मिक सम्पदाको सर्वेक्षण गरी त्यसको अवस्थाबारे अभिलेख तयार गर्नुपर्छ ।’
विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रियाका लागि जानकी मन्दिरको ऐतिहासिकता, धार्मिक महत्व, वास्तुकला, सांस्कृतिक परम्परा तथा यससँग जोडिएका विभिन्न पक्षको व्यवस्थित अभिलेखीकरण आवश्यक रहेको सरोकारवालाले बताए ।
छलफलका क्रममा मन्दिरको निर्माण शैली, ऐतिहासिक पृष्ठभूमि, धार्मिक परम्परा तथा जनकपुरधामसँग जोडिएको सांस्कृतिक महत्वलाई प्रमाण र तथ्यका आधारमा दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिइएको थियो ।
जानकी मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभई मिथिला सभ्यता, संस्कृति र परम्परासँग जोडिएको महत्वपूर्ण सम्पदाका रूपमा रहेकाले यसको संरक्षणलाई स्थानीय सीमाभन्दा बाहिर अन्तर्राष्ट्रिय तहमा समेत स्थापित गर्नुपर्ने धारणा छलफलमा राखिएको थियो ।

संरक्षित स्मारक क्षेत्रभित्र हुने निर्माण तथा पुनर्निर्माणका कामलाई समेत व्यवस्थित गर्नुपर्ने आवश्यकता सरोकारवालाले औंल्याएका छन् ।
ऐतिहासिक सम्पदाको मौलिक स्वरूपमा असर पर्ने गरी नयाँ भौतिक संरचना निर्माण गर्न नहुने र विकास निर्माणका गतिविधिलाई सम्पदा संरक्षणसँग जोडेर अघि बढाउनुपर्नेमा छलफलमा जोड दिइएको थियो ।
जानकी मन्दिर वरपर तथा संरक्षित क्षेत्रभित्रका ऐतिहासिक स्थलको मौलिकता जोगाउँदै आवश्यक पूर्वाधार विकास गर्नुपर्ने धारणा सहभागीहरूले राखेका थिए ।
संरक्षित क्षेत्रभित्र रहेका पोखरी, सरोवर, मठमन्दिर तथा अन्य सांस्कृतिक सम्पदाको अवस्था पहिचान गरी संरक्षणको योजना बनाउनुपर्ने आवश्यकता समेत औंल्याइएको छ ।
जानकी मन्दिरलाई विश्व सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत गराउने पहल अघि बढेसँगै अब यसको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रस्तुत गर्ने चुनौतीसमेत देखिएको छ ।
यसका लागि मन्दिर र आसपासका सम्पदाको ऐतिहासिक प्रमाण, वास्तुकला, मौलिकता, संरक्षणको अवस्था, धार्मिक तथा सांस्कृतिक परम्परा र स्थानीय समुदायसँगको सम्बन्धलगायत विषयलाई वैज्ञानिक ढंगले अभिलेखीकरण गर्नुपर्ने हुन्छ ।
सरोकारवालाका अनुसार प्रारम्भिक प्रतिवेदनमाथि विज्ञ तथा स्थानीय समुदायको सुझाव लिएर त्यसलाई थप परिष्कृत गरिनेछ । त्यसपछि तयार हुने अन्तिम प्रतिवेदनका आधारमा युनेस्कोमा सूचीकृत गराउने प्रक्रिया अघि बढाउने तयारी छ ।
जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने पहलसँगै संरक्षित स्मारक क्षेत्रको निर्णय कार्यान्वयनमा आए जनकपुरधामका ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षणका लागि दीर्घकालीन आधार तयार हुने विश्वास गरिएको छ ।


