जलेश्वर नगर सभापति अशोक साहसहित ७ जना एक वर्षका लागि कांग्रेसबाट निष्कासित
महोत्तरी, ०२ असोज । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले महोत्तरीका सात जना पार्टी नेता तथा कार्यकर्तालाई एक वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ ।
केन्द्रीय अनुशासन समितिको भदौ ३१ गते बसेको बैठकले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै उनीहरूमाथि कारबाही गर्ने निर्णय गरेको हो ।
कारबाहीमा पर्नेमा जलेश्वर नगरपालिकाका नगर सभापति अशोककुमार साह, जिल्ला सदस्य जितेन्द्रप्रसाद सिंह, जलेश्वर नगरपालिका–८ का विमलेशकुमार सिंह, जलेश्वर नगरपालिका–१ का सभापति रामकपुर साह ‘राजु’, महासमिति सदस्य श्रीचन्द्र महासेठ तथा एकडारा गाउँपालिका–४ का गौरीशंकर मिश्र र प्रकाश पाठक रहेका छन् ।
केन्द्रीय अनुशासन समितिले पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरी अनुशासन उल्लंघन गरेको सम्बन्धमा प्राप्त उजुरीमाथि छलफलपछि नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) को धारा ३४ (८) (घ) बमोजिम उनीहरूलाई एक वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको जनाएको छ ।
समितिले उक्त निर्णय कार्यान्वयन तथा जानकारीका लागि नेपाली कांग्रेस महोत्तरी जिल्ला कार्यसमितिलाई पत्राचार गरेको छ ।
निर्णयको बोधार्थ मधेश प्रदेश कार्यसमिति र महोत्तरी जिल्ला निर्वाचन अधिकृतलाई समेत पठाइएको छ ।
केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरद्वारा हस्ताक्षरित पत्र असोज २ गते जारी गरिएको हो ।



