धनुषाधामबाट खैरो हेरोइनजस्तो पदार्थ बरामद, दुई जना नियन्त्रणमा
जनकपुरधाम, ०२ असोज । धनुषामा लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषाधाम नगरपालिका–८ स्थित धारापानी बजारमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय यज्ञभूमि र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार बिहीबार दिउँसो करिब ४ः१० बजे गरिएको चेकजाँचका क्रममा सिरहाको बरियारपट्टी गाउँपालिका–२ का २६ वर्षीय नितेश कुमार महतो र १६ वर्षीय एक बालकको साथबाट खैरो हेरोइनजस्तो देखिने २७ दशमलव ९१० ग्राम पदार्थ बरामद भएको हो ।
बरामद पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीले बरामद पदार्थ लागुऔषध भए–नभएको यकिन गर्न आवश्यक परीक्षण तथा अनुसन्धान अघि बढाएको जनाएको छ ।


