मधेश प्रदेश भवन परिसरमा संयुक्त सरसफाइ अभियान
जनकपुरधाम, ०२ असोज । सार्वजनिक स्थलको स्वच्छता तथा वातावरणीय संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले धनुषामा प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला ट्राफिक प्रहरी कार्यालय जिरोमाइल, धनुषा र सशस्त्र प्रहरी बलको संयुक्त आयोजनामा मिथिला नगरपालिका–१४ स्थित मधेश प्रदेश भवन परिसरमा सरसफाइ गरिएको हो ।
कार्यक्रममा प्रहरी तथा सशस्त्र प्रहरीका कर्मचारीहरूले भवन परिसर तथा आसपासका क्षेत्रमा रहेका फोहोर संकलन गरी सार्वजनिक स्थललाई सफा र व्यवस्थित बनाएका थिए ।
सरसफाइ अभियानमार्फत सार्वजनिक स्थलको संरक्षणसँगै नागरिकमा वातावरणीय स्वच्छता र सरसफाइप्रति जिम्मेवारीबोध बढाउने उद्देश्य रहेको आयोजकले जनाएको छ ।
स्वच्छ वातावरण निर्माणका लागि प्रहरी तथा सुरक्षा निकायको प्रयास मात्र पर्याप्त नहुने भन्दै सरसफाइलाई दैनिक जीवनको व्यवहारका रूपमा अपनाउन र आफ्नो घर, टोल, सडक तथा सार्वजनिक स्थान सफा राख्न नागरिकलाई आग्रह गरिएको छ ।


