अदालतबाट सजाय तोकिएका १० फरार प्रतिवादी पक्राउ
जनकपुरधाम, ०२ असोज । धनुषामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका १० जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जिल्ला अदालत धनुषाबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएका उनीहरूलाई खोजतलास गर्ने क्रममा शुक्रबार पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूविरुद्ध लुटपिट, सवारी ज्यान, कुटपिट, भ्रष्टाचार र लागुऔषधसम्बन्धी मुद्दामा अदालतबाट फैसला भइसकेको प्रहरीले जनाएको छ । फैसला कार्यान्वयनका क्रममा प्रहरी कार्यालय तथा मातहतका इकाइबाट खटिएको टोलीले उनीहरूलाई खोजी गरी पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जनालाई लुटपिट मुद्दामा २ सय ५ रुपैयाँ ५० पैसा जरिवाना तोकिएको थियो । यस्तै, सवारी ज्यान मुद्दामा एक जनालाई १५ दिन कैद र २ हजार रुपैयाँ जरिवाना तथा कुटपिट मुद्दाका तीन जनालाई जनही २ हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो ।
त्यसैगरी भ्रष्टाचार मुद्दामा एक जनालाई ५० हजार रुपैयाँ जरिवाना तोकिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका चार जनामध्ये एक जनालाई १ महिना १५ दिन कैद, दुई जनालाई २–२ महिना कैद र १–१ हजार रुपैयाँ जरिवाना तथा अर्का एक जनालाई २ महिना १४ दिन कैद र १ हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो ।
प्रहरीले अदालतबाट सजाय तोकिएपछि वारदातपश्चात फरार रहेका प्रतिवादीहरूको खोजतलास तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ । पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार अदालतबाट फैसला भई कैद तथा जरिवाना सजाय तोकिएका फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ गरी फैसला कार्यान्वयनमा सहयोग गर्ने कार्यलाई प्रहरीले निरन्तरता दिइरहेको छ ।
प्रहरीले फरार प्रतिवादीहरूको खोजतलासका लागि मातहतका प्रहरी इकाइलाई परिचालन गर्नुका साथै आवश्यक समन्वयमार्फत पक्राउ अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।


