५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय वृद्ध पक्राउ
बारा, ०२ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही गाउँका करिब ६५ वर्षीय असम्जान मियाँ रहेका छन् । बालिकामाथि पटकपटक यौन दुर्व्यवहार तथा बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका मियाँलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखेर घटनाबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
आरोपी पक्राउ परेपछि आक्रोशित स्थानीयवासीले राति प्रहरी चौकी घेराउ गर्दै विरोध प्रदर्शन गरेका थिए । उनीहरूले बालिकामाथि भएको घटनामा संलग्न व्यक्तिमाथि कडा कानुनी कारबाही गर्न माग गरेका थिए ।
राति करिब ९ः२० बजेपछि प्रहरी चौकी आसपासको अवस्था केही समय तनावपूर्ण बनेको थियो । प्रदर्शनमा सहभागी स्थानीयले आरोपीलाई आफ्नो जिम्मा लगाउनुपर्ने मागसमेत गरेका थिए ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो । प्रहरीले भने आरोपीलाई कानुनी प्रक्रियाअनुसार हिरासतमा राखिएको र घटनाको निष्पक्ष अनुसन्धान भइरहेको जनाएको छ ।
घटनापछि इनर्वाशिरा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । बालिकाको संरक्षण तथा घटनासम्बन्धी थप तथ्य संकलन गर्दै अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीले घटनासँग सम्बन्धित प्रमाण संकलन, पीडित पक्षको बयान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ । आरोप पुष्टि हुन भने अनुसन्धान तथा न्यायिक प्रक्रिया पूरा हुन बाँकी छ ।


