धनुषामा अपराधको ग्राफ उकालो, एक महिनामै १५९ घटना दर्ता
जनकपुरधाम, ०२ असोज । जिल्ला प्रहरी कार्यालय धनुषाले २०८३ साल भदौ महिनामा अपराध अनुसन्धान तथा नियन्त्रण, फैसला कार्यान्वयन, सडक सुरक्षा, विपद् व्यवस्थापन र नागरिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भदौ महिनामा जिल्लामा १५९ वटा विभिन्न प्रकृतिका अपराधका घटना दर्ता भएका छन् ।
दर्ता भएका घटनामध्ये ज्यानसम्बन्धी १६, चोरीसम्बन्धी २०, आत्महत्यासम्बन्धी १६, संगठित तथा आर्थिक अपराधसम्बन्धी २१, सामाजिक अपराध ३८, महिला तथा बालबालिकासम्बन्धी २३, सवारी ज्यानसम्बन्धी ३ र अन्य प्रकृतिका २२ घटना रहेका छन् ।
प्रहरीका अनुसार सो अवधिमा जघन्य तथा गम्भीर प्रकृतिका अपराधतर्फ कर्तव्य ज्यान, हातहतियार, मानव बेचबिखन, बैंकिङ कसुर, जुवातास, ठगी तथा मुद्रासम्बन्धी गरी २१ वटा घटना दर्ता भएका छन् ।
चालु मुद्दाका फरार प्रतिवादी पक्राउ गर्ने अभियानअन्तर्गत भदौ महिनामा धनुषामा १३५ जना प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सार्वजनिक चासो रहेका पेन्डिङ मुद्दाको अनुसन्धानतर्फ ८२ वटा मुद्दा फछ्र्यौट गरिएको विवरणमा उल्लेख छ ।
त्यसैगरी फैसला कार्यान्वयनतर्फ अदालतबाट भएको फैसला कार्यान्वयनका क्रममा ९२ वटा मुद्दा फछ्र्यौट गरिएको छ । यस क्रममा ७२ वर्ष १४७ महिना ४५१ दिन कैद तथा ८८ लाख ७३ हजार २१ रुपैयाँ जरिवाना असुलउपर गर्नुपर्ने फैसला कार्यान्वयन गरिएको प्रहरीले जनाएको छ ।
घरेलु हिंसाका ९० उजुरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी घटनामा भदौ महिनामा ९० वटा उजुरी परेको प्रहरीले जनाएको छ । घरेलु हिंसातर्फ पनि ९० वटा उजुरी परेकोमा ८४ वटा मिलापत्रमार्फत फछ्र्यौट गरिएको छ ।
उपमहानगरपालिकातर्फ ३८, नगरपालिकातर्फ ३८ र गाउँपालिकातर्फ १४ वटा घरेलु हिंसाका उजुरी परेको विवरणमा उल्लेख छ । तीमध्ये क्रमशः ३५, ३७ र १२ वटा उजुरी मिलापत्रबाट टुंग्याइएको प्रहरीले जनाएको छ ।
हराएका महिला, पुरुष तथा बालबालिका र ज्येष्ठ नागरिकको खोजी तथा उद्धारतर्फ पनि प्रहरीले काम गरेको जनाएको छ । भदौमा महिला २२, पुरुष १०, बालक ७, बालिका २३ र ज्येष्ठ नागरिक ९ जना गरी ७१ जना हराएको विवरण दर्ता भएकोमा महिला ४, पुरुष २, बालक ९, बालिका ६२ र ज्येष्ठ नागरिक २४ गरी विभिन्न व्यक्तिहरू फेला परेको विवरण प्रहरीले सार्वजनिक गरेको छ ।
७६७ ठाडो उजुरी
प्रहरी कार्यालयमा प्रत्यक्ष तथा जिल्ला प्रशासन कार्यालयमार्फत आएका ठाडो उजुरीतर्फ भदौ महिनामा ७६७ वटा उजुरी परेको छ । जसमध्ये प्रहरी कार्यालयमा प्रत्यक्ष रूपमा ५२० उजुरी परेकोमा ३५७ वटा फछ्र्यौट भएका छन् भने १६३ वटा बाँकी छन् ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरी कार्यालयमा आएका २४७ उजुरीमध्ये ११८ वटा फछ्र्यौट भएका छन् भने १२९ वटा फछ्र्यौट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
३३२ किलोभन्दा बढी गाँजा बरामद
लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले भदौ महिनामा ३३२ किलो ४७० ग्राम गाँजा बरामद गरेको जनाएको छ । त्यस्तै, २२० दशमलव ६ ग्राम ब्राउन सुगर तथा अन्य लागूऔषधसमेत बरामद गरिएको विवरणमा उल्लेख छ ।
प्रहरीले लागूऔषध कारोबार तथा प्रयोग नियन्त्रणका लागि नियमित चेकजाँच, गस्ती र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ ।
७७ सवारी दुर्घटना, ७६३ सवारीमाथि कारबाही
सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनतर्फ भदौ महिनामा धनुषामा ७७ वटा सवारी दुर्घटना भएको प्रहरीको तथ्याङ्क छ ।
दुर्घटनामा ११५ वटा सवारीसाधन संलग्न रहेको र १४८ जना मानिस घाइते भएको विवरणमा उल्लेख छ । दुर्घटनामा घाइते तथा प्रभावित व्यक्तिको उद्धारमा समेत प्रहरी परिचालन भएको जनाइएको छ ।
ट्राफिक नियम उल्लंघन गर्ने ७६३ वटा सवारीसाधनमाथि कारबाही गरिएको र त्यसबाट ७ लाख ६९ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाको प्रमुख कारण चालकको लापरबाही देखिएको छ । उपलब्ध विवरणअनुसार चालकको कारणबाट ६५ र अन्य कारणबाट १२ वटा दुर्घटना भएको उल्लेख छ ।
विपद्का २० घटनामा चारको मृत्यु
भदौ महिनामा धनुषामा विभिन्न प्रकृतिका २० वटा विपद्का घटना भएको प्रहरीले जनाएको छ । ती घटनामा चार जनाको मृत्यु र १३ जना घाइते भएका छन् भने ९ जनालाई प्रहरीले उद्धार गरेको विवरणमा उल्लेख छ ।
आगलागी, बाढीपहिरो, पानीमा डुब्ने तथा अन्य विपद्का घटनामा प्रहरी टोली परिचालन गरी उद्धार तथा सुरक्षासम्बन्धी काम गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भन्सार छली नियन्त्रणमा १ लाख १७ हजारभन्दा बढीको सामान बरामद
राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियानअन्तर्गत प्रहरीले १ लाख १७ हजार १६० रुपैयाँ बराबरको सामान बरामद गरेको जनाएको छ ।
त्यस्तै, प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ १५ वटा सवारीसाधन बरामद गरी १ लाख ४ हजार रुपैयाँ जरिवाना असुल गरिएको विवरणमा उल्लेख छ ।
अवैध मदिरा नियन्त्रणतर्फ प्रहरीले ५२० लिटर मदिरा बरामद गरेको जनाएको छ ।
समुदाय र विद्यालय केन्द्रित जनचेतनामूलक कार्यक्रम
अपराध न्यूनीकरणका लागि प्रहरीले भदौ महिनामा दैनिक गस्ती तथा पेट्रोलिङ, नियमित चेकजाँच, भारतीय सुरक्षा निकायसँग समन्वय र विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
समुदाय केन्द्रित कार्यक्रमअन्तर्गत लागूऔषधविरुद्ध १४ वटा कार्यक्रम सञ्चालन गरी ३४५ जना लाभान्वित भएका छन् । विपद्सम्बन्धी ११ वटा कार्यक्रमबाट २७५ जना र बालविवाहविरुद्ध दुईवटा कार्यक्रमबाट ५० जना लाभान्वित भएको विवरणमा उल्लेख छ ।
त्यस्तै, ट्राफिक सचेतना, अन्य सामाजिक अपराध न्यूनीकरण तथा नागरिक सचेतनासहित ९५ वटा समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिएको र त्यसबाट २ हजार ५४० जना लाभान्वित भएको प्रहरीले जनाएको छ ।
विद्यालय केन्द्रित सचेतनामूलक कार्यक्रममा पनि लागूऔषध, साइबर अपराध, लैङ्गिक हिंसा तथा अन्य विषयलाई प्राथमिकता दिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका हटलाइनमा ७ हजार ७८६ कल
नागरिकसँग प्रहरीको प्रत्यक्ष सम्पर्क विस्तार गर्ने उद्देश्यले सञ्चालनमा रहेका हटलाइन तथा प्रहरी कार्यालयका सम्पर्क नम्बरमा भदौ महिनामा ७ हजार ७८६ वटा कल आएको प्रहरीले जनाएको छ ।
जसमध्ये हटलाइनमा २ हजार ७०१ र प्रहरी कार्यालयका डीएसपी सम्पर्क नम्बरमा ५ हजार ८५ कल आएको विवरणमा उल्लेख छ ।
नागरिक सहायता कक्षमा समेत ६ हजार ९९३ सेवाग्राही पुगेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले अपराध नियन्त्रणसँगै नागरिकमैत्री प्रहरी सेवामा जोड दिइएको बताए ।
उनका अनुसार अपराध न्यूनीकरणका लागि प्रहरीको नियमित गस्ती, चेकजाँच र अनुसन्धानलाई प्रभावकारी बनाउँदै समुदायसँगको समन्वयलाई समेत प्राथमिकतामा राखिएको छ ।
‘अपराध नियन्त्रण प्रहरीको प्रयासबाट मात्र सम्भव हुँदैन, यसका लागि समुदाय, स्थानीय तह, विद्यालय, नागरिक समाज तथा सम्बन्धित सरोकारवाला निकायबीच निरन्तर सहकार्य आवश्यक हुन्छ,’ प्रवक्ता खनालले भने, ‘भदौ महिनामा अपराध अनुसन्धान र फरार प्रतिवादी पक्राउसँगै महिला तथा बालबालिका सुरक्षा, लागूऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, विपद् उद्धार र नागरिक सहायता सेवामा पनि प्रहरी परिचालन गरिएको छ ।’
प्रवक्ता खनालले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि भारतीय समकक्षी सुरक्षा निकायसँग समन्वय बढाइएको र अपराध न्यूनीकरणका लागि प्राप्त सूचनालाई अनुसन्धान तथा कारबाहीसँग जोडिएको बताए ।
उनले प्रहरीको कामलाई थप नागरिकमैत्री, जवाफदेही र परिणाममुखी बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरे ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अपराध नियन्त्रणसँगै प्रहरी कर्मचारीको मनोबल बढाउन उत्कृष्ट प्रहरी घोषणा तथा पुरस्कार प्रदान गर्ने, आवश्यकता अनुसार आलोपालो बिदाको व्यवस्था मिलाउनेलगायतका गतिविधि पनि सञ्चालन गरिएको छ । साथै पीडित पुनःभेटघाट कार्यक्रमलाई नवप्रवर्तनात्मक गतिविधिका रूपमा अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले भदौ महिनाको समग्र कार्यसम्पादनमा अपराध अनुसन्धान र नियन्त्रणसँगै नागरिक सेवा, जनचेतना, सडक सुरक्षा, विपद् व्यवस्थापन तथा सामाजिक अपराध न्यूनीकरणलाई समान रूपमा प्राथमिकता दिएको जनाएको छ ।









