जनकपुर–अयोध्या–दिल्ली ‘वन्दे भारत रेल सेवा’ सञ्चालन गर्न माग
जनकपुरधाम, ०२ असोज । नेपाली कम्युनिष्ट पार्टीकी सांसद उर्मिला अर्यालले महिला, आदिवासी–जनजाति र दलित समुदायलाई विकासको मूलधारमा ल्याउन लक्षित कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेकी छन् ।
शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै अर्यालले मधेशको सामाजिक, आर्थिक तथा राजनीतिक विकासलाई समन्यायिक र गतिशील बनाउन संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन् ।
उनले जनकपुर–अयोध्या–दिल्लीबीच आधुनिक ‘वन्दे भारत’ रेल सेवा सञ्चालनका लागि पहल गर्नसमेत सरकारको ध्यानाकर्षण गराइन् ।
यस्तो रेल सेवा सञ्चालन भए जनकपुर र अयोध्याबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध थप बलियो हुनुका साथै धार्मिक पर्यटन र आवागमनमा सहजता हुने उनको भनाइ छ ।
भारत सरकारका सम्बन्धित पक्षसँग आफूले यस विषयमा छलफल गर्दा रेल सेवा सञ्चालनप्रति सकारात्मक चासो देखिएको अर्यालले बताइन् ।
सांसद अर्यालले मुलुकको श्रमशक्तिलाई उत्पादनसँग जोड्ने गरी रोजगारीका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पनि जोड दिइन् ।
साथै, तीव्र गतिमा पुँजी निर्माण गर्ने नीति तथा कार्यक्रम आवश्यक रहेको बताउँदै मधेशको विकासलाई गति दिन सबै तहका सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने धारणा राखिन् ।
उनले मधेशमा आधुनिक र समन्यायिक सामाजिक आर्थिक व्यवस्था निर्माणका लागि विकासका कार्यक्रमलाई शीघ्र कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरिन् ।


