जनकपुरधाम, ०२ असोज । मधेशको लाइफलाइन मानिएको हुलाकी राजमार्गअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीको पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

करिब १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको पुल अब दुई महिनाभित्र औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

निर्माण कम्पनी र बीमा कम्पनीबीचको कानुनी विवाद तथा पुलको पिलर भाँचिएपछि लामो समयदेखि रोकिएको निर्माण कार्य सरकारले मुख्य समस्या पहिचान गरी आवश्यक सहजीकरण गरेपछि अघि बढेको हो ।

नदीमा भाँचिएको १० नम्बर पिलर पुनर्निर्माणको काम सम्पन्न भइसकेको छ । सब–स्ट्रक्चरको ढलान, फाउन्डेसनसहित तीनवटा पिलरको सबलीकरण तथा पुलको लोड परीक्षणसमेत पूरा भएको छ । अब सुपर स्ट्रक्चरको स्ल्याबमाथि ढलान गर्ने काम मात्रै बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

नदीमा पानीको सतह घटेपछि आगामी हप्ताबाट बाँकी ढलानको काम अघि बढाइनेछ । धनुषातर्फ पुलसम्म पुग्ने पहुँच सडकमा भरिएको माटो वर्षाको पानीले बगाएपछि क्षति पुगेको छ । पानीको सतह घटेपछि पुनः माटो भर्ने काम गरिनेछ भने सिराहातर्फको पहुँच सडकमा माटो भर्ने काम सम्पन्न भइसकेको छ ।

कमला पुलको निर्माणका लागि २०६८ सालमा पप्पु लुम्बिनी जेभीले ठेक्का पाएको थियो । २०७८ साल असारमा पुल उद्घाटनको तयारी भइरहेका बेला पिलर भाँचिएपछि आयोजना लामो समयदेखि रुग्ण अवस्थामा थियो ।

यसैबीच, मन्त्रालयले पुलसँगै कमला नदी नियन्त्रणको कामसमेत अघि बढाएको छ । नदी नियन्त्रणका लागि सरकारले २५ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ ।

डिजाइन स्वीकृत गरी आह्वान गरिएको टेन्डरमा जेभीसहित १९ वटा निर्माण कम्पनी सहभागी भएका छन् । आगामी हप्तासम्म प्राविधिक मूल्याङ्कन सकेर आर्थिक प्रस्ताव खोल्ने तयारी मन्त्रालयको छ ।