जनकपुरधाममा चिकित्सकमाथि आक्रमणको नेपाल चिकित्सक संघद्वारा भर्त्सना
जनकपुरधाम, ०२ असोज । नेपाल चिकित्सक संघले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा कार्यरत आजीवन सदस्य डा. सरोज साहमाथि भएको सांघातिक आक्रमणप्रति गम्भीर आपत्ति जनाएको छ ।
संघले शुक्रबार विज्ञप्ति जारी गर्दै ड्युटीमा रहेका चिकित्सकमाथि बिरामीका आफन्तसहितको समूहबाट भएको आक्रमणलाई अमानवीय र निन्दनीय घटना भन्दै घोर भर्त्सना गरेको हो ।
बिहीबार कार्यस्थलमै डा. साहमाथि आक्रमण भएको संघले जनाएको छ । स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि देशका विभिन्न स्थानमा पटकपटक आपराधिक घटना भइरहनुले उनीहरूको पेशागत सुरक्षा र आत्मसम्मानमा गम्भीर असर परेको संघको भनाइ छ ।
घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही गर्न संघले माग गरेको छ । साथै, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।
संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वास्थ्य संस्थालाई सुरक्षित कार्यस्थलका रूपमा सुनिश्चित गर्नसमेत सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।



