हातपातको आरोपमा रास्वपा वीरगञ्ज–२५ का वडासभापति पक्राउ
पर्सा, ०२ असोज । वीरगञ्ज महानगरपालिका–२५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडासभापति प्रकाश साहलाई प्रहरीले पक्राउ गरेको छ ।
अभद्र व्यवहारसम्बन्धी उजुरीका आधारमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार वीरगञ्ज भन्सारस्थित एकीकृत जाँच चौकी (आईसीपी) परिसरमा माछा बोकेको गाडी पास गराउने विषयमा भएको विवादका क्रममा साहले एक व्यक्तिमाथि हातपात गरेको आरोप छ ।
भदौ ३० गते आईसीपी परिसरमा दुई पक्षबीच झगडा भएको थियो । उक्त घटनामा घाइते भएका मनिष गुप्ताले दिएको जाहेरीका आधारमा साहलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
पक्राउ परेका साहलाई हाल वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा माछा व्यापारमा सिन्डिकेट कायम गर्ने विषयलाई लिएर विवाद बढेको देखिएको छ । यद्यपि, घटनाको वास्तविक कारण र संलग्नताबारे अनुसन्धानपछि थप तथ्य खुल्ने प्रहरीले जनाएको छ ।


