जनकपुरधाम, ०२ असोज । धनुषामा लामो समयदेखि जग्गाधनी प्रमाण पुर्जाविहीन अवस्थामा रहेका परिवारलाई पुर्जा वितरण गर्ने अभियानलाई तीव्रता दिइएको छ ।

नाप नक्सा सम्पन्न भए पनि दर्ता प्रक्रिया पूरा हुन नसकेका गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गाको समस्या समाधान गर्दै नापी कार्यालय धनुषाले पुर्जा वितरणलाई प्राथमिकताका साथ अघि बढाएको हो ।

यसैक्रममा आज शुक्रबार क्षिरेश्वरनाथ नगरपालिका–१ का ३ सय ८८ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ ।

साविक रमदैया भवाडी गाविसअन्तर्गत वडा नम्बर २, ३, ४, ६, ७ र ८ का ती परिवारलाई पुर्जा वितरण गरिएको हो । उक्त क्षेत्रको नाप नक्सा भने २०७४ सालमै सम्पन्न भएको नापी कार्यालयले जनाएको छ ।

त्यसैगरी भोली शनिबार क्षिरेश्वरनाथ नगरपालिका–२ का २ सय ४२ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने तयारी गरिएको छ ।

साविक रमदैया भवाडी गाविसअन्तर्गत वडा नम्बर १, ५ र ९ मा पर्ने उक्त क्षेत्रको पनि नाप नक्सा २०७४ सालमै सम्पन्न भएको थियो ।

यससँगै असोज महिनामा क्षिरेश्वरनाथ नगरपालिका–१ र २ का गरी ६ सय ३० परिवारले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गर्नेछन् ।

नापी कार्यालय धनुषाका प्रमुख उमेश कुमारका अनुसार नाप नक्सा सम्पन्न भए पनि विभिन्न कारणले दर्ता प्रक्रिया पूरा हुन नसकेका स्ववासी तथा गाउँ ब्लक क्षेत्रका जग्गाको समस्या समाधान गर्दै पुर्जा वितरण अघि बढाइएको हो ।

उनका अनुसार जग्गा दर्ता गरी पुर्जा वितरण भएपछि वर्षौंदेखि जग्गाको स्वामित्व स्थापित हुन नसकेका परिवारले कानुनी रूपमा आफ्नो जग्गाको स्वामित्व कायम गर्ने आधार पाउनेछन् । यसले भूमिसम्बन्धी समस्या समाधान तथा व्यवस्थित बसोबासमा समेत सहयोग पुग्नेछ ।

पुर्जा प्राप्त भएपछि बैंक तथा वित्तीय संस्थामा जग्गा धितो राखेर ऋण लिन, कानुनी प्रक्रियाअनुसार जग्गा बिक्री वितरण गर्न तथा राज्यलाई राजस्व प्राप्त हुने आधार तयार हुने प्रमुख उमेश कुमारले बताए । पुर्जा वितरणले भूमिसम्बन्धी विवाद निरुपण गर्न तथा भूमिकर संकलनका लागि समेत कानुनी आधार तयार गर्ने उनको भनाइ छ ।

त्यस्तै, स्ववासीको लगत तयार हुने र गाउँ ब्लक क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण तथा संवर्धनमा समेत सहयोग पुग्ने नापी कार्यालयले जनाएको छ । स्थानीय तहलाई व्यवस्थित बसोबास क्षेत्रको अवधारणा तयार गरी दीर्घकालीन योजना बनाउनसमेत पुर्जा वितरणले सहज बनाउने बताइएको छ ।

नापी कार्यालय धनुषाले नाप नक्सा सम्पन्न भइसकेका तर दर्ता प्रक्रिया बाँकी रहेका जिल्लाका अन्य गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गाको विवरण अध्ययन गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर पुर्जा वितरणलाई निरन्तरता दिने जनाएको छ ।